इलाम, ४ चैत । करिब चार करोडको लागतमा मेचीका तीन जिल्लाको कालोपत्रे सडकको मर्मत तथा सम्भारको कार्य तीव्ररुपमा भइरहेको छ ।
डिभिजन सडक कार्यालय इलामले दिएको जानकारीअनुसार, चालु आवको साउन महिनादेखि हालसम्म राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गको मर्मत सम्भारको काम जारी छ ।
मेची राजमार्गअन्तर्गत इलाम र झापाको सिमानामा पर्ने चिहानेडाँडादेखि ताप्लेजुङको सुकेटार विमानस्थलसम्मको २४१ किमी कालोपत्रे सडकको मर्मत कार्य भइरहेको छ ।
कालोपत्रे सडकमा मजदुरमार्फत खाल्डाखुल्डीको मर्मत भइरहेको डिभिजन सडक कार्यालय इलामका प्रमुख शिव दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार, पहिलो चरणको पटके मर्मत सकिएको छ भने दोस्रो चरणको मर्मतका लागि ठेक्का सम्पन्न भइसकेको छ ।
पहाडी सडकमा वर्षात्को समयमा मर्मत कार्य गर्न सकिँदैन ।
सहायक सडकअन्तर्गत सूर्योदय नगरपालिकाको फिक्कलदेखि पशुपतिनगरसम्मको सडकखण्डको मर्मत, विशेष मर्मत तथा नाली सफा गर्ने कार्य पनि भइरहेको सडक डिभिजन प्रमुख दाहालले बताउनुभयो ।
केन्द्रीय कार्यक्रमअनुसार वार्षिकरुपमा सडक मर्मत, सम्भार तथा निर्माण भइरहेको भए पनि कतिपय सडक अतिक्रमण भइरहेकोे जनाइएको छ ।
मेचीको पहाडी जिल्लाको कालोपत्रे सडक आसपासमा ठूलाठूला घर बनाउने व्यवसायीले ढुङ्गागिट्टी, बालुवा जस्ता सामग्री अटेर गरेर राख्ने गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यता व्यापारीले समेत आफ्नो पसलबाट निस्किएका प्लास्टिकजन्य फोहरमैला सडकको नालीमा फ्याँक्ने गरिआएका छन् ।
मेची राजमार्गमा निर्माण भइरहेको घरसमेत १५/१५ मिटर क्षेत्र नछाडी बनाउने र विभिन्न ठाउँमा नाली पुरिदिने कामसमेत बताइएको छ ।















प्रतिक्रिया