
काठमाडौं, ८ भदौ । स्वास्थ्य मन्त्रालयले लक्षणविनाका कोरोना संक्रमित राख्न उपत्यकाका विभिन्न ४ वटा स्थानमा २ हजार बेडका आइसोलेसन केन्द्र बनाउने भएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले संक्रमित व्यक्ति राख्न कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र र चिकित्सा शास्त्र अध्ययन संस्थानको भवनमा २०० भन्दा बढी बेड छुट्याएको बताएका छन् ।
डा. सिंहका अनुसार यसबाहेक इचगुंमा रहेको एक भवनमा ५०० बेड र खरीपाटीको विद्युत् प्राधिकरणको भवनमा ५०० बेडको आइसोलेसन केन्द्र बनाइँदै छ ।
उनले दहचोकको मनमोहन मेडिकल कलेजको भवनमा ३०० भन्दा बढी बेडको आइसोलेसन केन्द्र आतबारदेखि नै सञ्चालनमा आएको बताए । यसबाहेक उपत्यकाका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा छुट्टै आइसोलेसन बेड बनाइएको उनको भनाइ छ ।
उपत्यकाका ४ स्थानका ठूलो स्तरमा र अन्य विभिन्न स्वास्थ्य संस्थामा सानो स्तरमा गरेर करीब २ हजार बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरेको र गर्ने क्रममा रहेको विभागको भनाइ छ ।
यस्तै उपत्यकाका मेडिकल कलेजमा कोरानाका लक्षण देखिएका बिरामीको उपचार गर्न कोरोना विशेष अस्पताल बनाउनेबारे पनि छलफल भइरहेको बताइएको छ ।
आवश्यक परे मन्त्रालयले विभिन्न होटेलका भवनहरूलाई समेत प्रयोग गरेर आइसोलेसन केन्द्र बनाउने तयारी गरिरहेको छ ।















प्रतिक्रिया