
काठमाडौं, ८ भदौ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारका क्रममा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
नगरपालिकाको ६१औं नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवत्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरको आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने बताइएको छ ।
यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक, स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाले बताएको छ ।
तर, एउटै व्यक्तिले दोहोरो भत्ता भने लिन पाइने छैन । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए ।
बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ जना स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि २० जनासम्मको कोरोना बीमा गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया