२ कार्तिक २०८३, सोमबार

एकता जोगाउन प्रतिवेदन ‘अचुक रसायन’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदाै । नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगे। दाहालले कार्यदलको संयोजक र सदस्य भई पार्टी एकता जोगाउन नेताद्वयको भूमिका ‘प्रशंसनीय’ रहेको बताए।

नेकपा समस्या समाधान सुझाव कार्यदलले शनिबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो। कार्यदलमा महासचिव पौडेल संयोजक र प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका रहेका पोखरेल सदस्य थिए।

दाहालले केहीबेर प्रतिवेदनको व्यावहारिक कार्यान्वयनका पक्षमा पौडेल र पोखरेलसँग कुराकानी गरे। दुई अध्यक्षबीच थप संवादका विषयमा पनि छलफल भयो। कार्यदलको प्रतिवेदनलाई लिएर आइतबार ओली र दाहालबीच छलफल हुने भनिएको थियो। तर, प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाउँदै सोमबारलाई छलफल सारिएको छ। अब आज (सोमबार) बिहान छलफलमा बस्ने तयारी छ।

ओली र दाहालबीचको कार्यविभाजनबारे गत मंसिर ४ मा गरिएको निर्णयको पुनव्र्याख्या गरी सुझाव प्रतिवेदन दिएपछि नेताहरूले विवाद समाधान भएको प्रतिक्रिया दिन थालेका छन्। कार्यदलले ओलीलाई सरकार र दाहाललाई पार्टी सञ्चालनको काम गर्ने गरी कार्यविभाजनको सुझाव दिएको छ। पार्टी एकता गर्दाका यी दुई अध्यक्षबीच मूलभूत एकता कायम गरेर पार्टी एकता जोगाउन जोड गरिरहेका नेताले अब संकट निवारणको ‘अचुक सूत्र’ फेला परेको प्रतिक्रिया दिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य लेखराज भट्टले पार्टी एकतालाई बलियो बनाउने गरी कार्यदलले सुझाव प्रतिवेदन ल्याएकाले त्यसले सकारात्मक सन्देश पार्टी नेता–कार्यकर्तामा पैदा गरेको बताए। ‘पार्टी पंक्ति र जनतामा पार्टी फुट्छ कि भन्ने एउटा संशय थियो। दुई अध्यक्षको सहमतिमा बनेको कार्यदलले हामीले भन्दै आएका विषयहरू नै समेटेर सुझाव प्रस्ताव ल्याएको देखिएको छ। पार्टी एकता मुख्य हो। त्यसमा पनि दुई अध्यक्षबीचको एकता। यसले नै पार्टी एकता अगाडि लैजान्छ र सरकारका कामकाजलाई पनि दह्रोसँग अगाडि लैजान सहयोग पुग्ने कुरा हामी दोस्रो पुस्ताका नेताहरूले भन्दै आएका थियौं। अहिले कार्यदलले त्यही स्पिरिटमा सुझाव प्रतिवेदन ल्याएको देखिएको छ’, मन्त्री भट्टले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकारको नेतृत्व दुवै पदमा यथावत् रहने, अर्का अध्यक्षले पार्टी कामको जिम्मा कार्यकारी अधिकारसहित लिने गरी प्रस्ताव आएको देखिन्छ। गएको मंसिर ४ को सहमतिमा पनि त्यही थियो। त्यसलाई अहिले व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने कुरा आएको देखिन्छ। दुई अध्यक्षको सहमतिमा एउटा अध्यक्षले पार्टी काम गर्ने र अर्काे अध्यक्षले सरकारको कामकाजमा लाग्ने। तर, दुवै नेता एक अर्काेसँगको सरसल्लाहमा काम गर्ने, यही हो अहिलेको विवाद समाधानको सूत्र। त्यही प्रस्ताव सुझाव कार्यदलले ल्याउँदा विवाद अब टरेको छ।’

एमसीसीलगायत विषयमा पनि सकारात्मक सुझाव कार्यदलले दिएकाले धेरै विवाद अब पार्टीमा नरहने भट्टको भनाइ छ। अब सबै नेता कार्यकर्तालाई संस्थागत विधि र पद्धतिमा अगाडि बढ्न प्रेरित गर्ने उनको भनाइ छ।

‘विधि पद्धतिको कुरा गर्ने हो भने कुनै एउटाले मात्र मान्नुपर्ने र अर्काेले मान्नु नपर्ने जुन खालको अवस्था पार्टीमा देखिन थालेको थियो, त्यो गलत थियो। सबैलाई विधि पद्धति मानेर जानुपर्छ भनेर समस्याको समाधान गरेर जान खोजिएको छ। यसलाई सबैले मान्ने र दुई अध्यक्षको एकताबाट नै हिजोका दिनमा भएका सहमतिमा टेकेरै अगाडि बढ्नुपर्ने मैले देख्छु’, मन्त्री भट्टले भने।

अब कार्यदलको प्रतिवेदनमा दुई अध्यक्षको छलफल, त्यसपछि सचिवालयमा हुने छलफल र सहमतिपछि स्थायी समितिमा पारित गरेर नेकपा विवाद हल गर्ने तयारी छ। त्यसका लागि १३ साउनदेखि अवरुद्ध हुँदै आएको स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमा अब दुई अध्यक्षले छलफलपछि निर्णय लिनेछन्। १३ साउनमा प्रधानमन्त्री ओलीले बैठक स्थगन गर्ने र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक सञ्चालन गर्ने अवस्था आएपछि नेकपा करिब विभाजनको संघारमा पुगेको थियो।

त्यसपछि नेकपाभित्रका दोस्रो पुस्ताका नेताहरूले नेतृत्वलाई एकता टुटाउन नपाउने गरी विवाद समाधान खोजी गर्न दबाब बढाएका थिए। सचिवालय सदस्यसमेत रहेका रामबहादुर थापाले सुरुदेखि नै दुई अध्यक्ष मिलेर एकता महाधिवेशनसम्म जानुपर्ने मत राख्दै आएका थिए। कृषिमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराईलगायत ओली, दाहाल र नेपाल तीनै पक्षका ११ जना स्थायी समितिका नेताले छुट्टै अभियान चलाएका थिए।

६२ सांसदले पनि एकता जोगाउन नेतृत्वलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका थिए। उद्योगमन्त्री भट्टलगायत नेता पनि आफ्नै ढंगले लागेका थिए। शुरुमा ओलीका दुवै पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका नेता पनि क्रमशः विवाद मिलाउनुपर्ने भन्दै लचक भएका थिए। त्यसले पनि ओली र दाहाललाई मिल्न दबाब परेको थियो। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।