३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो : देउबा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले हाल संसारभर देखिएको कोरोना भाइरसविरुद्धको लडाईं स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको बताएका छन् ।

प्रतिकुल वातावरण र स्रोतसाधनको अपर्याप्तताका बाबजुद पनि स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको भन्दै देउबाले उनीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा भएको बताएका छन् ।

‘म हृदय देखिनै उहाँहरूको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्याउन सरकारलाई आग्रह गर्दछु’, आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउबाले भनेका छन् ।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ’, उनले विज्ञप्तिमा लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरू र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरूलाई सजग गराउन चाहन्छु ।’

आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य पूरा गरिरहेका स्वास्थ्यकर्मीलाई हामी सबैले सहयोग र हौसला प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

‘आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरूसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी एवं हाम्रा गाउँशहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाईकर्मीहरूलाई हृदयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सराहना गर्दछु’, देउबाले भनेका छन् ।