
काठमाडौं, ७ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरो प्रभावितहरुलाई जुगलकै अर्को वडा सेलाङमा सार्ने तयारी भएको छ ।
जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा उनीहरुलाई सार्ने गरी काम सुरु भएको बताइएको छ । आइतबार बिहानैबाट सुरक्षाकर्मी खटिएर टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम सुरु भएको छ । पहिलो चरणमा १२१ ओटा परिवारलाई टेन्टमा राख्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
त्यहाँको १७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने पहिचान भएका १२१ परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामाग्री ढुवानी गरिएको गाउँपालिकाले बताएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय अनुसार शनिबार ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्ने छ । जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ ।
जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । सिन्धुपाल्चोकको लिदीमा साउन ३० गते शुक्रबार गएको पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परेको छ ।















प्रतिक्रिया