३० आश्विन २०८३, शुक्रबार

अलपत्र नेपाली लिन निगमको जहाज दुबई उड्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । घर फर्कन दुबई विमानस्थलमा पुगिसकेका नेपालीलाई नलिई जहाज फर्केपछि अलपत्र परेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं आइपुग्ने तालीका छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान रोकेपछि दुबई विमानस्थलमा पुगिसकेका नेपालीलाई छाडेर नेपाल एअरलाइन्स फर्किएको थियो ।

नेपाल एअरलाइन्स रित्तै फर्केपछि घर फर्कन विमानस्थलमा पुगेका नेपालीहरु अलपत्र परेका थिए । आज दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाण्डौं आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाण्डौं–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । १८ अगष्टका लागि दुबईबाट काठमाण्डौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाण्डौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।

त्यो दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज आइतबार उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो । यसबाट उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए ।

तर, मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएसँगै उनीहरु आज काठमाडौं आइपुग्ने भएका हुन् । मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ । त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ ।

सरकारी निर्णयानुसार पिसीआर परीक्षण सहज भएका देशहरु मलेशिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिने छ ।

बैठकले पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका देशबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिने छ ।

यसरी आउने यात्रुले ७२ घण्टाभित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाण्डौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नुपर्नेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न देशबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

नेपाल एअरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाण्डौं विमानस्थलमा अवतरण गर्नेछ । रासस