
काठमाडौं, ६ भदौ । वीरगञ्जस्थित होटल रानीपोखरी सेमी–आइसोलेसन सेन्टरबाट २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने चितवनको बकुलहर रत्नननगर अस्पताल टाँडीका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वबन्धु बगालेले पनि कोरोना जितेका छन् ।
पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि वीरगञ्जका २० जनालाई डिस्चार्ज गरिएको हो । होटल रानीपोखरीमा चिकित्सकीय परामर्श सुविधासहित लक्षण नभएका ५२ जना संक्रमितलाई राखिएकोमा २० जना डिस्चार्ज भएको आइसोलेसनका व्यवस्थापक दिलिपराज कार्कीले जानकारी दिए ।
यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राती गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । भरतपुर अस्पतालबाट लिइएको स्वाबमा ३९ वर्षीय डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले बताएको छ ।
डा.बगाले र उनकी श्रीमतीलाई साउन २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएका डा. बगाले र छोराको रिपोर्ट नेगेटिभ आए पनि उनको श्रीमतीको भने पोजेटिभ नै आएको छ । उनी पनि डाक्टर नै हुन् ।















प्रतिक्रिया