
काठमाडौं, ५ भदौ । सरकारले काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिवको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । बिहीबार भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शुक्रबार उनले सो जानकारी दिएका हुन् ।
ठगित समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका कर्मचारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तोकिएका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकाय राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरू सदस्य रहने छन् ।
त्यस्तै क्वारेन्टाइन रहने स्थलका स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि पनि समितिको सदस्य रहने मन्त्री खतिवडाले बताए । क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव भने गृहमन्त्रालयकै सहसचिव रहने छन् ।
समितिले तीनवटै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा क्वारेन्टिन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने र क्वारेन्टिन निर्माण, मर्मत तथा अत्यावश्यक तयारी सहरी विकास तथा भवन निर्माण विभागमार्फत गर्नु पर्ने छ ।















प्रतिक्रिया