
काठमाडौं, ५ भदौ । आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
अहिले प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशको केही ठाउँबाहेक अन्यत्र आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । भोलि बेलुकीदेखि भने मनसुन पुनः सक्रिय भएर देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद् समिर श्रेष्ठले बताए ।
अहिले काठमाण्डौ उपत्यका घमाइलो भएको छ । बिहानै मौसम खुल्ला हुँदा गर्मी पनि बढेको छ । बादल हटेर आकाश खुल्ला हुँदा काठमाण्डौ आसपासका डाँडापाखा रमाइला देखिएका छन् । दिउँसोसम्म काठमाडौंको मौसम खुल्ने र त्यसपछि बादल लाग्ने बताइएको छ । तर, बेलुकीदेखि भने हल्कादेखि मध्यय खालको पानी समेत पर्ने मौसमविद्को भनाइ छ ।
आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्ययम खालको पानी पर्ने सम्भावना रहेकाले ती ठाउँहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने लगायतका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।















प्रतिक्रिया