काठमाडौं, ५ भदाै । कोरोना संक्रमित बढेसँगै स्थानीय तह र प्रशासनले ४३ जिल्लामा निषेधाज्ञा जारी गरेर हिँडडुल गर्न, बजार–पसल खोल्न र सवारीसाधन चलाउन रोक लगाएका छन् । विज्ञहरूले भने निषेधाज्ञाले मात्र कोभिड–१९ नियन्त्रण नहुने बताएका छन् ।
सरकारले संक्रमण नियन्त्रण र बिरामीको उपचारका लागि ठोस योजना बनाउनुपर्ने उनीहरूको सुझाव छ । यसअघि संघीय सरकारले नै पटक–पटक समय बढाउँदै १ सय २० दिन मुलुकभर लकडाउन गरेको थियो । संक्रमितको संख्या न्यून हुँदा लकडाउन मात्रै लम्ब्याएको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि केही योजना बनाएन । त्यसैको परिणाम अहिले देखिएको विज्ञहरू बताउँछन् । केही सातायता लक्षणसहितकै संक्रमितको संख्या निकै बढेपछि भने संघीय सरकारले स्थानीय तह र प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार बिहीबार साँझसम्म पूर्ण रूपमा २८ र आंशिक १५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा पनि बिहीबारदेखि निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चल्न दिइएको छैन । खाद्यान्न, तरकारी र औषधि पसलबाहेक अरू पसल बन्द गरिएका छन् । सर्वसाधारणलाई घरभित्रै राख्ने गरी यसरी निषेधाज्ञा मात्रै गर्नेभन्दा पनि संक्रमण रोकथाम र नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्नुपर्ने पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए । सर्वसाधारणको आउजाउ बढ्नु र संक्रमितको ट्रेसिङ नहुनु संक्रमण बढ्नुको मुख्य कारण भएको पूर्वस्वास्थ्यमन्त्री अधिकारीको बुझाइ छ । ‘निषेधाज्ञाको अवधिमा आउजाउ कम हुने भएकाले अब ट्रेसिङलाई जोड दिनुपर्छ,’ नेकपाका नेतासमेत रहेका उनले भने, ‘हाम्रो पार्टी पनि आन्तरिक किचलोमा रुमलिएको छ । अब नेतादेखि कार्यकर्ताको ध्यान कोरोनामै केन्द्रित गर्नुपर्छ ।’
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार सरकारसँग कोरोना महामारी नियन्त्रणका कुनै ठोस योजना नै छैन । सरकार घटनामा आधारित भएर मात्र अगाडि बढिरहेकाले यति धेरै अव्यवस्थित अवस्था सिर्जना भएको उनको तर्क छ । ‘सरकार मान्छे धेरै मरे भनेर तिनको अन्तिम संस्कार गर्नका लागि घाट बढाउनतिर मात्रै लागेको छ,’ उनले भने, ‘कसरी मान्छेलाई अस्पतालसम्म नै पुग्न नदिने, कसरी मर्न नदिने भन्ने योजना सरकारसँग छैन ।’
डा. सुवेदीका अनुसार सरकारले जुनसुकै नाम दिएर ‘लकडाउन’ गरे पनि त्यसले मात्रै अब रोकथाम हुन सक्दैन । ‘सरकारले धेरै समय बर्बाद पारिसक्यो । अब फेरि निषेधाज्ञा भनेको छ,’ उनले भने,
‘हामीले पहिलो दिनदेखि भन्दै आएको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रूपमा गरिनुपर्यो । कोही पनि छुट्नुभएन ।’ परीक्षणको दायरा बढाउन सरकारले मोबाइल टोलीलाई टोलटोलमा पठाउनुपर्नेमा उनले जोड दिए । ‘अब त मान्छेले पैसा तिरेर पनि परीक्षण गराउन थालेका छन् । पैसा तिरेर परीक्षण गराउन चाहनेलाई लक्ष्य गरेर टोलटोलमा मोबाइल परीक्षण टोली पठाउनुपर्छ,’ उनले भने ।
पूर्वस्वास्थ्यमन्त्री अधिकारी भारतबाट आउनेहरूका लागि निश्चित नाका तोकेर व्यवस्थित हेल्थ डेस्क व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् । स्वरुप आचार्य र मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया