– शिबलाल सुबेदी
गुल्मी २ चैत । पढे लेखेकाले जागिर नै खानुपर्छ भन्ने सोचलाई चिर्दै सुर्खेतका युवा ब्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
आफ्नो छोराले पढेलेखेपछि सरकारी जागिर नै खानुपर्छ भन्ने चाहाना भएपनि बिश्वबिद्यालय तहको सर्टिफिकेट झोलामै राखेर यहाँका युवाहरु ब्यावसायिक तरकारी खेतीमा होमिएका छन् ।
नपढेर बेरोजगार भएकाहरुले मात्र गर्ने पेसाका रुपमा लिने गरिएको कृषिमा पछिल्लो समयमा भने शिक्षित पढेलेखेका र विश्वविद्यालय तहको अध्ययन पुरा गरेका युवाहरु यस तरकारी तथा कृषि पेसामा बढी आकर्षित भएका हुन् ।
एकातिर उच्च शिक्षा हासिल गरेर पनि रोजगारीका अवसरहरु पर्याप्त नहुनु तथा अर्कातिर तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पनि युवाहरु आफुले हासिल गरेका शैक्षिक योग्यताका सर्टिफिकेटहरु झोलामा थन्काएर व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।
राजनीतिशास्त्र तथा मानविकीशास्त्रमा डिप्लोमा तहको पढाई पुरा गरेका गुल्मी अस्लेवा ५ चौर निवासी अर्जुन कनौजे पाएसम्म सरकारी जागिर खाने सोचमा हुनुहुन्थ्यो ।
तर भनेको समयमा आफ्नो योग्यता अनु्सारको जागिर नपाएपछि बेरोजगार भएर बस्नुभन्दा गरे के हुदैन र भन्ने सोचका साथ उहाँ तरकारी खेतीमा लाग्नुभएको हो ।
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै तरकारी खेती गर्ने सोच बनाएर तरकारी खेतीमा लाग्नु कनौजे जिल्लामा छोटो समयमा उत्कृष्ट तथा सफल कृषक समेत बन्नुभएको छ ।
तरकारी खेती सम्बन्धी एक दर्जन जति तालिम समेत प्राप्त कनौजेले भन्नुभयो “डिग्री पढेरमात्र के गर्नु, हातमा सर्टिफिकेट भएर जागिर पाइदो रहेनछ ।
सर्टिफिकेट देखाएर बेरोजगार बस्नुभन्दा तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने तिर लागे कनौजेले अगाडि थप्नुभयो“ अहिले मेरो करिब १ सय रोपनी जग्गामा तरकारी उत्पादन भैरहेको छ बािषर््क १० लाख रुपैयाभन्दा बढी आम्दानी गर्छु ।”
अर्जुन कनौजे अहिले शैक्षिक योग्यताको सर्टिफिकेट घरमा थन्काउदै ब्यावसायिक तरकारी खेती तथा पशुपालन गरेर समाजमा राम्रो उदाहरण बन्नुभएको छ । उहाँका अनुसार तरकारी खेती तथा पशुपालनबाट चाहेअनुसारको आम्दानी भएको बताउनुभयो ।
जागिरको खोजीमा भौतारिदै समय खेर फाल्नुभन्दा ब्यावसायिक तरकारी तथा पशुपालनमा लागेर समयको सदुपयोग गरेको छु समयको लगानि, मेहनत गर्न सकेमा कृषि र पशुपालन पेसाबाट चाहे अनुसारको आम्दानी गर्न सकिने ब्यावसायिक युवा किसान कनौजेको भनाई रहेको छ ।
पढेर बेरोजगार तथा छिमेकी जिल्ला पाल्पा मदनपोखराका उमानाथ पोखरेलको प्रेरणाबाट तरकारी खेती शुरु गर्नुभएका अर्जुन कनौजेले अहिले १२ जनालाई रोजगार समेत दिनुभएको छ । उहाँले तरकारी खेतीसगै पशुपालन समेत गर्नुभएको छ ।
उहाँको गोठमा १० वटा उन्नत जातका भैसी रहेका छन भने ३ वटा जर्सी गाई रहेका छन् । उहाँलाई जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस वर्ष स्वरोजगारबाट ४० हजार अनुदान दिएको छ भने राष्ट्रपति कृषक सम्मान र गुल्मी जिल्लाका व्यवसायिक कृषकहरु मध्ये उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएको छ ।
साथै उहाँ अहिले ब्यावसायिक कृषि तथा ब्यापार आयोजनाबाट १० लाख रुपैया अनुदान प्राप्त गर्नका लागि छनौट समेत पर्नुभएको छ । अर्जुन कनौजे त्यस क्षेत्रका बिद्यालय बिभिन्न सघं सस्था लगायत राजनीतिक क्षेत्रमा समेत सक्रिय रहनुभएको छ ।
कनौजे जस्तै रेसुङ्गा बहुमुखी क्याम्पसमा डिग्री गदै गरेका नेपाल बिद्यार्थी सघं गुल्मीका पुर्व उप सभापति निरज मरासिनी पनि अहिले तरकारी तथा पशुपालन र माछा पालनमा लाग्नुभएको छ ।
उहाँले पनि पढेर सरकारी जागिर खाने रहर नभएको भने होईन । उहाँको परिवारका अन्य सदस्यहरुले निरजले राम्रो सरकारी जागिर खाए हुन्थो भन्ने चाहाना राखेका थिए ।
आफुजस्तै १ दर्जन बढी युवाहरुलाई समेटेर सामुहिक तरकारी तथा पशुपालन र माछा पालन गर्न थाल्नुभएका निरजलाई पढेर जागिर नै खानुपर्छ भन्ने सोच अहिले हराएको छ ।
रेसुङ्गा नगरपालिका ३ मा झण्डै ७० रोपनी जग्गा भाडामा लिएर ब्यावसायिक तरकारी पशुपालन र माछा पालनमा लाग्नुभएको निरजले अव सर्टिफिकेट हातमा लिएर जागिर खोज्दै हिडेर समय खेर फाल्न नहुने बताउनुभयो ।
पहिले देखि आफ्नै बारीमा थोरै थोरै तरकारी खेती तथा फलफुल खेती गदै आउनु भएका मरासिनी पछिल्लो समयमा तरकारी, पशुपालन लगायतका बिभिन्न आयमुलक काममा बेरोजगार युवाहरुलाई लाग्न आग्रह समेत गदै आउनु भएको छ ।
अर्जुन कनौजे र निरज मरासिनी त प्रतिनिधी कृषक मात्र हुन । उनीहरु जस्तै पछिल्लो समयमा जिल्लामा धेरै पढे लेखेका युवाहरु सर्टिफिकेट थन्काएर तरकारी, गाईभैसीपालन, माछापालन, कुखुरापालन, बंगुरपालन लगायतका ब्यवसायमा जुटेका छन् ।
यता जिल्ला कृषि विकास कार्यालय गुल्मीले युवा लक्षित अनुदान मार्फत तरकारी खेती गर्न चाहनेलाई प्रतिब्यक्ति ४० हजारदेखि २ लाख रुपैयासम्म अनुदान उपलब्ध गराएपछि तथा तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकाले युवाहरु यसप्रति आकर्षित भएको जिल्ला कृषि विकास कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यलय गुल्मीका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीका अनुसार पछिल्लो समयमा गुल्मी जिल्लामा कार्यलयले सोचेभन्दा बढी युवाहरु कृषिमा लागेको बताउनुभयो ।
अहिले शिक्षित युवाहरु नै बढी कृषि पेसामा लागेका छन बरिष्ठ कृषि विकास अधिकृत चेतनाथले भन्नुभयो–‘युवाहरुको यो आकर्षणले कृषि पेसालाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन आएको छ, त्यतिमात्र होईन यसले बेरोजगारीको समस्या पनि समाधान गर्न ठुलो मद्दत गरेको छ ।”
















प्रतिक्रिया