१ कार्तिक २०८३, शनिबार

म्यानपावर मालिकले गरे फिल्मी शैलीमा कर्मचारीको बलात्कार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amrit-Thebe
पीडक थेबे

काठमाडौँ, ३ चैत । काठमाडौँमा म्यानपावरका मालिकले फिल्मी शैलीमा कार्यालयकै कर्मचारीको बलात्कार गरेका छन् ।

राजधानीमा आरआर म्यानपावर चलाउँदै आएका अमृत थेबेले आफ्नै म्यानपावरकी कर्मचारी प्रतिमा लामा मगरलाई बलात्कार गरेका हुन् ।

पीडित युवतीका अनुसार, घटना सोमबार रातिको हो । प्रतिमा दिउँसो थेबेको म्यानपावरको कार्यालयमा चिया पकाउने काम गर्थिन । केही दिन यता श्रीमती बिरामी भएको भन्दै थेबेले उनलाई राति घरमा लैजाँदै आएका थिए ।

तर, सोमबार राति साँढे ९ बजेतिर काठमाडौँको हेपाली हाइटस्थित घरमा आफूमाथि एक्कासी जबर्जस्ती गरेको उनले बताइन् । कार्यालयबाट फकाएर घरमा लगेर उनले जबर्जस्ती गरेको पीडितले दैनिक नेपालसँग बताइन् ।

‘घरको बैठक कोठामै मेरो सुत्ने बेड थियो । ऊ त्यहीँ सोफामा बसेर रक्सी खाँदै थियो । म टिभी हेरिरहेको थिएँ । ममाथि एक्कासी झम्टियो । झण्डै डेढघण्टासम्म चिच्याउँदा पनि मेरो आवाज सुनिदिने कोही भएन् ।’ पीडित प्रतिमाले भनिन् ।

भोलिपल्ट बिहान ४ बजे नै घरबाट भागेर आफू श्रीमान सानो कान्छा लामालाई भेट्न नख्खुस्थित डेरामा पुगेको उनले बताइन् । ‘सुरुमा त श्रीमानलाई कसरी सुनाउने भन्ने डर लागेको थियो । उहाँले फकाएर सम्झाएपछि मात्र भन्ने आत्मबल आयो ।,’ उनले भनिन्, ‘कसैलाई भनिस् भने तँ र तेरो श्रीमानलाई पनि मारिदिन्छु भनेर उसले धम्की दिएको थियो ।’

श्रीमानकै सल्लाहमा बिहीबार प्रहरीमा पीडित प्रतिमाले महाराजगन्ज प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले भोलिपल्टै पक्राउ गरी थेबेलाई हिरासतमा राखेको छ । ‘मेरो मेडिकल चेकअप भएको छ, प्रहरीले आराम गर्न भनेकाले घरमै छु ।’– उनले भनिन् ।

प्रतिमाका अनुसार, एकबर्ष पनि उनले एक महिना थेबेको कार्यालयमा चिया पकाउने काम गरेकी थिइन् । ‘बिहे भएपछि मैले काम छाडेको थिएँ । उसैले बोलाएपछि काम गर्न गएको हो । यसपटक काम गर्न गएको दुई दिन मात्रै भएको थियो ।,’ उनले भनिन्, ‘त्यतिबेला उसको घरमा आमाबुवा पनि थिए । त्यसैले कही फरक पर्दैन होला भनेर काम गर्न गएँ । तर, उसले ममाथि आँखा लगाएको रहेछ ।’

महाराजगन्जका डीएसपी सानुराम भट्टराईले एक हप्ताको म्याद थपेर हिरासतमा राखिएको जानकारी दिए । जबर्जस्ती करणी उद्योगमा प्रहरीले थेबेमाथि मुद्दा चलाएको छ ।

ताप्लेजुङ सिनाम स्थायी घर भएका थेबेले काठमाडौँमा सिलिङ म्यानपावर र इन्टरबिजनेश फाइनान्स पनि चलाउँदै आएका छन् । उनकी श्रीमती र चार बर्षीया एक छोरी छन् ।

थेबेको अर्को धन्दा

काठमाडौँको चक्रपथमा आरआर म्यानपावर चलाउँदै आएका थेबे आफूलाई काठमाडौँका डन चक्रे मिलनको सहयोगी बताउँदै हिँड्ने गरेका छन् । मलेसियाबाट कामदारको माग ल्याएको भन्दै बागबजारबाट झुट्टा कागजपत्र बनाउने गरेको खुलासा भएपछि यसअघि उनी वैदेशिक रोजगार विभागको कारबाहीमा परेका थिए । उनको म्यानपावरमा अख्तियारले छापा समेत मारेको थियो । त्यतिबेला उनी आर्थिक प्रलोभनमा पारेर छुटेका थिए ।

बलात्कारको मुद्दा झिसमिस पारी हिरासतबाट छुटाउन अहिले उनका निकटस्थहरु प्रहरी र शक्ति केन्द्र केन्द्र चहारिरहेका छन् ।