
काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ ।
सबै किसिमका सवारी पास बन्द गरिएको निषेधाज्ञा नमान्नेलाई कारवाही गरिने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनाएका छन् ।
दाहालले पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने बताएका हुन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजे सम्मका लागि काठमाडौँ उपत्यकाभर अत्यावश्यक बाहेकका सबै सेवासहित मानिसको आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।
कामको महत्व देखाएर परिचय पत्र भएका मानिसहरुलाई मात्रै आवतजावतको व्यवस्था हुनेछ ।
निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम निश्चित समयमा गर्न सकिनेछ ।
अत्यावश्यक मालबाहक ढुवानीबाहेक कुनै पनि यात्रुबाहक सवारी सञ्चालन गर्न दिइने छैन ।
त्यस्तै कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि विहान ९ बजे देखि साढे १० बजे सम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ ।
अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्व अनुमति आवश्यक नपर्ने प्रमुख दाहालले बताए ।
शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूशन सेन्टर, भाषा कक्षा लगायतका क्रियाकलापमहरु सञ्चालन गर्न समेत निषेध गरिएको छ। सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न पाइँदैन ।
फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरा समेत सञ्चालन गर्न पाइने छैन। बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत आदेश गरेको छ ।
अत्यावश्यक सेवाका लागि घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्न उनले आग्रह गरेका छन्। हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्मा गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने निर्णय भएको समेत दाहालले बताए ।
आदेशको कसैले उल्लंघन गरेमा ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिवाना र १ महिनासम्म कैद हुन सक्ने उनले बताए ।















प्रतिक्रिया