
कैलाली, २ भदौ । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुईरदुई लाख राहत रकम उपलब्ध गराइएको हो । भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी–८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले २÷२ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
उनले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । भजनीका बाढीपीडितले रकम पाएपछि राहत महसुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए ।
भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन् । ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन् ।
भजनी नगरपालिका र विभिन्न सङ्घसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ता कपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए । रासस















प्रतिक्रिया