काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टी (जसपा)लाई प्रदेश २ को सरकार पुनर्गठनको दवाव परेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उनको मन्त्रिमण्डलले काम गर्न नसकेपछि राजपाका प्रदेश सांसदहरूले सरकार परिवर्तनको माग उठाएका हुन् । साउन दोस्रो साता जसपाका १४–१५ जना प्रदेश सांसदहरू शीर्ष नेताहरूलाई अलग–अलग भेटेर प्रदेश २ को सरकार बदनाम भएको बताए ।
उनीहरूले मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारीअनुसार काम गर्न नसकेको, मन्त्रीहरूले गरेका भ्रष्टाचार रोक्न नसेको, मुस्लिम र मुस्लिम समुदाय र मदरसालाई मात्रै ध्यान दिएको, कोरोना नियन्त्रण र रोकथाममा असफल भएको भन्दै प्रदेश २ को सरकारलाई तत्काल हटाएर नयाँ सेट पठाउन माग गरेका एक सांसदले बताए ।
उनीहरूले जसपाका संयोजक महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, डा.बाबुराम भट्टराईलगायतलाई भेटेर मुख्यमन्त्री राउत र उनको मन्त्रिमण्डल भ्रष्टाचार, अनियमितता र केन्द्र सरकारसँग सम्बन्ध बिगार्न सक्रिय रहेको भन्दै चिन्ता जनाएका हुन् ।
सांसदहरूले जसपा प्रदेश २ को संसदीय दलको नेताको चयन गर्न पनि माग गरेका छन् । दुई पार्टी एकीकरण भएर जसपा बनेको अवस्थामा संसदीय दलको नेता अनुमोदन अर्थत विश्वासको मत लिनुपर्ने धारणा पनि सांसदहरूले अगाडि सारेका छन् ।
सांसदहरूले काठमाडौंमै शीर्ष नेताहरूलाई भेटेर मुख्यमन्त्री हटाउन र नयाँ सरकार बनाउन दवाव सिर्जना गरेपछि मुख्यमन्त्री लालबाबु राउतको सातोपुत्लो उडेको छ । राउतले आफ्नो कुर्सी बचाउन विभिन्न हर्कतहरू गरिरहेको एक सांसदले बताए ।
संसदीय दलको नेताको निर्वाचन भयो भने लालबाबु राउत, जितेन्द्र सोनल, मनीष सुमन र विजय यादवको नाम चर्चामा छ । मुख्यमन्त्री राउत निकै विवादित भएका छन् । सेनललाई पनि महन्थ ठाकुरले उनका विवादास्पद गतिविधिले गर्दा साथ छाडिसकेका छन् । यादबले मन्त्रालयका सचिव कुटेर हर्कत देखाइसकेका व्यक्ति हुन् ।















प्रतिक्रिया