
काठमाडौं, १ भदौ । गणतन्त्र इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ ।
उक्त अवसरमा सोमबार नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इन्डोनेसियाको झण्डोत्तलन गरे । झन्डोत्तलनमा वाणिज्यदूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको सीमित उपस्थिति थियो ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबाीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इन्डोनेसियाले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेयता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको बताइएको छ ।
नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । इन्डोनेसिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।















प्रतिक्रिया