काठमाडौं, १ भदाै । कोरोना संक्रमितहरुले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये नेगेटिभ रिपोर्ट आएकाले तत्काल खबर प्राप्त गर्ने भए पनि पोजिटिभ रिपोर्ट आएकाले भने केही दिनपछि मात्रै औपचारिक जानकारी पाउने गरेका छन् ।
सम्पर्कमा आएका केही संक्रमितका अनुसार उनीहरुले आफ्नो रिपोर्ट पोजिटिभ आएको सूचना परीक्षण गराएको थोरैमा पनि ३/४ दिनपछि मात्रै प्राप्त गरेको दाबी गरेका छन् । यस्तै केही संक्रमितलाई भने रिपोर्ट पोजिटिभ आएको १० दिनसम्म पनि कहीं, कतैबाट औपचारिक जानकारी नगराइएको समेत भेटिएको छ । संक्रमितहरुले आफ्नो रिपोर्ट समयमा थाहा नपाउने त छँदै छ, उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा समेत सम्बन्धित संस्थाहरु उदासीन रहेको देखिएको छ ।
यस्तै घटनामध्येको एक उदाहरण हो– मेडिकेयर अस्पतालमा निधन भएका एक व्यक्तिका परिवारको । मेडिकेयर अस्पतालमा उपचारक्रममा सोमबार बिहान एक संक्रमितको निधन भयो । शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएका उनलाई इमर्जेन्सीबाट तुरुन्तै आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर, उनमा कोरोना संक्रमण रहेको औपचारिक रिपोर्ट भने उनको निधनपछि मात्रै प्राप्त भयो । त्यसपछि अस्पतालले उनको शव नेपाली सेनालाई सद्गत गर्नका लागि जिम्मा दिएको थियो ।
ती व्यक्तिको निधन भएको आइतबार सात दिन पुगे पनि हालसम्म न उनको परिवारलाई कुनै सरकारी संयन्त्रले सम्पर्क गरेको छ न कन्ट्याक्ट ट्रेसिङ नै गरेको छ । उनीहरु आफैं सचेत भएर परीक्षण गराउँदा परिवारका ७ सदस्यमा संक्रमण देखिएको छ । सातमध्ये एक जना अझै पनि औपचारिक रिपोर्टको पर्खाइमा छन् । रिपोर्टको पर्खाइमा रहेका उनलाई कोरोना परीक्षणका लागि नमुना दिइएको अस्पतालले रिपोर्ट शंकास्पद देखिएकाले आइसोलेट भएर बस्न भने पनि रिपोर्ट दिएको छैन ।
‘निधन भएको व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि म सिधा सम्पर्कमा आएकाले आफैं आइसोलेट भएर बसें, हामी सबैले विभिन्न मितिमा कोरोना परीक्षण पनि गरायौं,’ निधन भएका व्यक्तिका परिवारका एक सदस्यले भने, ‘हामीलाई कन्ट्याक्ट ट्रेसिङमा परेकाले परीक्षण गर्नुस् भनेर कसैले पनि भनेन ।’
उनका अनुसार उक्त परिवारका केही सदस्यले बुधबार एक निजी प्रयोगशालामा परीक्षण गराएका थिए भने केहीले बिहीबार पाटन अस्पतालमा परीक्षण गराएका थिए । निजी अस्पतालमा परीक्षण गराएकामध्ये ६ जनालाई कोरोना पोजिटिभ रहेको औपचारिक जानकारी शनिबार इमेलमार्फत गराइएको थियो । अर्का एक सदस्यलाई भने आइतबार साँझ रिपोर्ट पोजिटिभ आएको भन्दै स्वास्थ्य मन्त्रालयले फोन गरेको थियो । ‘मैले दिउँसो तपाईंहरुसँग सम्पर्क गर्दासम्म कसैले केही भनेको थिएन तर अहिले मन्त्रालयबाट फोन आयो,’ उनले भने, ‘मलाई बाँकी कुरा भोलि स्थानीय निकायले फोन गरेर सुझाउने बताइएको छ । जबकि म गत आइतबारदेखि नै आइसोलेसनमा छु ।’ ती संक्रमितका अनुसार उनका परीवारका सबै सदस्यले आफैं पैसा तिरेर परीक्षण गराएका हुन् । त्यसमा कहीँ कतैबाट पनि सहयोग र सहुलियत प्राप्त भएको छैन । स्वरूप आचार्यले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया