३० आश्विन २०८३, शुक्रबार

नागरिकको स्वास्थ्य अधिकारप्रति थप जवाफदेही बन्न सरकारलाई आग्रह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा. इन्दिरा श्रेष्ठ

काठमाडौं, ३२ साउन । बढ्दो क्रममा रहेको कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नागरिकको स्वास्थ्य अधिकारप्रति थप जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान अवस्था र सम्भावित जोखिम नियन्त्रणमा सरकार गम्भीर र थप जवाफदेही बन्नु पर्ने बताएकी हुन् । पछिल्लो समय जताततै कोरोनाको संक्रमण फैलिएका कारण आम नागरिक त्रसित बनिरहेका बेला सरकारले थप जिम्मेवारीबोध गरी प्रभावकारी कदम चाल्नु पर्नेमा इन्सेकले जोड दिएको छ ।

‘गाउँ, बस्ती, सहर र समुदायस्तरमा फैलिँदै गएको सङ्क्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसका कारण आम मानिसमा त्रास फैलिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल र स्वास्थ्य संस्थाहरूले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु पर्ने दायित्वबाट विमुख हुन मिल्दैन । कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ । उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ ।’

‘नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने दायित्वबाट निजी स्वास्थ्य संस्था विमुख हुन मिल्दैन’

कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्‍याउनु जरुरी देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्क्रमित बिरामीको उपचार गर्न  निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनाका साथै उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएको भन्दै इन्सेकले सबैलाई सचेत र धैर्य रहन आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा साउन ३१ सम्म मृत्यु हुनेको सङ्ख्या १०२ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।