लण्डन, ३२ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फ्रेञ्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार अबेर राति पोर्चुगलको लिस्बनमा भएको अन्तिम क्वार्टरफाइनलमा लियोनले सिंटीलाई ३-१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । लियोनका लागि म्याक्सवेल कोर्नेटले २४ मिनेटमा पहिलो गोल गरे ।
पहिलो हाफमा १-० गोलले पछि परेको सिटीका लागि केभिन डे ब्रुनाले ६९ मिनेटमा बराबरीमा गोल फर्काउन सफल भए ।
अन्तिम ११ मिनेटमा लियोनका मोउसा डेम्बेलेले दुई गोल गर्दै आफ्नो टिमलाई जित दिलाए । डेम्बेलेले ७९ मिनेटमा गोल गरेर लियोनलाई दोस्रो पटक अग्रता दिलाए। ८७ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा लियोनको अग्रता ३-१ मा पुगेको थियो ।
योसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। सिजनको लिगमा दुई जर्मन क्लब आरबी लेइपजिग र वायर्न म्युनिख तथा दुई फ्रेन्च क्लब पिएसजी र लियोनले अन्तिम चारमा स्थान बनाए ।
अब पहिलो सेमिफाइनलमा मंगलबार लेइपजिग र पिएसजीबीच खेल हुनेछ । बुधबार हुने दोस्रो सेमिफाइनलमा लियोन र वायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ ।















प्रतिक्रिया