
काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले लिदी पहिरोको क्षतिको जिममेवारीबारे प्रश्न उठाएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोले पुर्याएको जनधनको क्षतिबारे सरोकारवाला निकायले जिममेवारी लिनु पर्ने भन्दै सामाजिक सञ्जालमाफृत प्रश्न उठाएका हुन् ।
शनिबार नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोकको जुगल–लिदीमा हिजोको पहिरोले गाँउ नै बगाएर भएको ठुलो जनधनको क्षतिको जिम्मेवारी कसले लिने ? किनकी बिपद सुनिश्चित जस्तै भएकाले बस्ती सारेर जोखिमबाट बचाउनु पर्ने निष्कर्ष पहिले नै आधिकारिक रुपमा निकालि सकिएको थियो । स्थानीय सरकार र जनताले त्यस्तो माग गर्दै आएका थिए । तसर्थ उद्दार, राहात र तथाकथित क्षतिपुर्तिमा मात्र सीमित भएर पुग्दैन, यसको अनुसन्धान गरेर दोषीमाथि कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरिनु पर्छ ।’
उनले थप लेखेका छन्, ‘जिम्मेवारीविनाको फोस्रो श्रद्दाञ्जली र समवेदनाको अर्थ रहने छैन । अन्यथा यस्ता घटनाहरु अहिले जसरी नै दोहोरि रहने छन् । अतः सरकारले तत्काल गम्भीर कदम चालोस् भनी अनुरोध गर्दछु ।’
हाल पहिरो प्रभावित गाउँलाई जोखिमपूर्ण स्थान भनेर पहिचान गरे पनि बस्ती सार्न ढिलाइ गर्दा ठूलो जनधनको क्षति भएको श्रेष्ठको दाबी छ ।
घटनाको अध्ययन गरी दोषीलाई कडा कारबाही गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन् ।















प्रतिक्रिया