३० आश्विन २०८३, शुक्रबार

गोंगबु हत्याकाण्ड : कल्पनाको ‘नक्कली मायाजाल’ र कृष्णबहादुरको ‘अतृप्त यौन प्यास’को परिणाम

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । काठमाडौंको गोंगबु हत्या काण्डमा कल्पना मुढभरी पौडेलबाहेक अन्य व्यक्तिको पनि संलग्नता भएको प्रहरीले बताएको छ ।

आफ्ना साझेदार निरज थापालगायतललाई कल्पना आफ्नी कान्छी श्रीमती भएको बताउँदै आएका दाङका कृष्णबहादुर बोहोरा मात्र नभइ अन्य थुप्रै पुरुषहरु कल्पनाको ‘नक्कली मायाजाल’मा परेको अनुमान छ ।

आफ्नो श्रीमानले नेपालगञ्जमा बनाइदिएको घर चटक्कै छोडेर ३ सन्तानसहित विनारोजगारी काठमाडौं बस्दै आएकी कल्पनाको आयस्रोतबारे प्रहरी पछिल्लो समय गम्भीर बनेको छ । साथै अनुसन्धानको दायरा फराकिलो बनाउने योजना प्रहरीले बनाइरहेको बताएको छ ।

साउन २५ गते बोहोराको शव भेटिएकै दिन रातारात कल्पना र उनकी छोरीलाई चितवन पर्याउने एम्बुलेन्स चालक, हरेक दिन घरसम्म ल्याइदिने केही ट्याक्सीचालक र अन्य केही व्यक्ति प्रहरीले आफ्नो अनुसन्धानको निशाना बनाइरहेको छ ।

यद्यपि, उक्त एम्बुलेन्स चालक अहिले प्रहरीकै हिरासतमा छन् । उनले कल्पनासँग आफ्नो चिनजान भए पनि हत्यालगायत गतिविधिमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको प्रहरीको भनाइ छ ।

त्यसो त कल्पनाले पनि हत्यामा आफूबाहेक कोही पनि कृष्णबहादुरको हत्यामा संलग्न नभएको र आफैंले गरेको स्वीकार गर्दै आएकी छिन् ।

कल्पनाका वास्तविक श्रीमान् मिनबहादुर मुढभरी हुन् । उनीहरुबीच न त डिभोर्स भएको छ न त सँगै नै बसेका छन् । मिनबहादुरले नै नेपालगञ्जमा बनाइदिएको घर छोडेर उनी काठमाडौं आएकी थिइन् ।

तर, काठमाडौंमा कुनै पेशा वा व्यवसायमा संलग्न रहेको नखुलेकी कल्पनाले आफू र आफ्नो तीन जना सन्तानको पालनपोषण र काठमाडौंको सानदार जीवनशैलीको स्रोत के हो भन्नेतिर पनि प्रहरीको अनुसन्धान केन्द्रित बन्दै गएको छ ।

कल्पना ४ वर्षदेखि काठमाडौंमा बस्दै आएको खुलेको छ । यो बीचमा के कृष्णबहादुर मात्रै थिए त उनको आर्थिक आम्दानीको स्रोत वा अरु पनि धेरै पुरुषहरुलाई उनले ‘पैसा धुत्ने’ माध्यम बनाएकी थिइन् ? वा उनले आफ्नो चरित्र दाउमा राखेकी थिइन् ? यसबारे पनि अनुसन्धान हुने प्रहरी स्रोतको भनाइ छ ।

त्यसो त रोल्पा स्थायी घर भइ दाङमा बसाइ सरेका कृष्णबहादुरको पनि चरित्र घटनाले उदाङ्गो पारेको छ । मानसिक सन्तुलन गुमाएकी जेठी श्रीमती दाङमै छिन् भने बालबच्चासहितकी कान्छी श्रीमती भारतमा बस्दै आएको खुलेको छ ।

यति हुँदा हुँदै पनि उनी कान्छी श्रीमतीका लागि कल्पनालाई अपनाउन खोजिरहेका थिए र साथीभाइलाई समेत उनले आफ्नो कान्छी श्रीमती भएको बताउँदै आएका थिए ।

कल्पनाको आर्थिक आवश्यकता पूरा गर्दै गएका कृष्णले जब आफ्नो पैसा फिर्ता माग्न थाले तब उनीहरुबीच मनमुटाव शुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, पैसा फिर्ता माग्दा कल्पनाले छोरीमाथि बलात्कार गरेको आरोप लगाएर फसाइदिने धम्की दिन थालिन् ।
अहिले कल्पनाले आफ्नी छोरीमाथि बलात्कार गर्न खोजेपछि आवेशमा आएर कृष्णबहादुरको हत्या गरेको बयान दिएकी छिन् । तर, उनको बयानलाई प्रहरीले रत्तिभर पनि पत्याएको छैन ।

घटनास्थलबाट बरामद भएका विभिन्न हातहतियारहरुले उनको त्यो बयानलाई गलत सावित यसै पनि गरिसकेको छ । त्यतिमात्र होइन एउटी महिला एक्लैले यति ठूलो विभत्स हत्या भएको प्रति पनि प्रहरीमा थुप्रै शंकाहरु उत्पान्न भएको छ ।

गोंगबुको वीभत्स हत्याकाण्ड कल्पनाको ‘नक्कली मायाजाल’ र कृष्णबहादुरको ‘अतृप्त यौन प्यास’को अन्तिम परिणाम हो । यसले उनीहरु दुवैको चरित्र छर्लङ्ग बनाएको छ भने अन्य व्यक्ति को–को कल्पनासँगको लसपसमा थिए भन्ने तथ्य प्रहरी अनुसन्धानबाट क्रमिक रुपमा खुल्दै जाने छ ।

र, समाजमा हुने स्वार्थको खेलहरुबाट सबै सधैं सचेत हुनुपर्छ भन्ने सन्देश पनि यो घटनाले छोडेको छ ।