२ कार्तिक २०८३, सोमबार

कांग्रेस महाधिवेशन : महामन्त्रीमा सुरक्षित हुन सभापतिकै दाबेदारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । गगन थापा समाजको आम तप्काका लागि सुनिने र देखिने प्रतिपक्ष हुन् । उनी सरकारको मात्रै होइन, आफ्नो पार्टी कांग्रेसमा पनि प्रतिपक्षी भूमिकामा छन् । धेरैले भन्छन्, ‘थापा संसद्मा नभएको भए कांग्रेसको भूमिका अझै खुम्चिन्थ्यो । उनीजस्तै युवाको उपस्थिति पार्टी केन्द्रीय कार्यसमितिमा नभइदिएको भए नेतृत्वको मनमोजी अझै चल्थ्यो ।’

कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्यका अनुसार थापा कुनै नेताको फेर समातेर नभई सडकले बनाएका नेता हुन् । ०६२/०६३ को जनआन्दोलन यताका समयमा समाजको मुद्दा बोक्न र मुद्दालाई आम जनतामाझ सञ्चार गर्न सक्ने क्षमता कांग्रेसमा बीपीपछि थापामा आफूले देखेको आचार्य सुनाउँछन् । ‘उनको लोकप्रियतालाई भजाउन सक्ने हो भने पार्टीलाई धेरै माथि ल्याउन सकिन्छ,’ उनले भने, ‘तर कांग्रेसमा त्यस्तो संस्कृति छैन ।’

पार्टीले लोकप्रियता भजाउन नसके पनि आफैंले निर्माण गरेको जगबाट माथि आउन थापाको संघर्ष भने जारी छ । पार्टीभित्रको गुट उपगुट, नेताहरूको सिन्डिकेड र प्रतिनिधिमूलक परम्परागत निर्वाचन प्रणाली छिचोल्दै नेतृत्व सम्हाल्ने भूमिकामा आउन उनीजस्ता नेतालाई ठूलै सकस पर्ने देखिन्छ । जस्तो, १३ औं महाधिवेशनमा पर्‍यो । एकातिर बीपी कोइरालाको विरासत बोकेका शशांक कोइराला थिए, अर्कोतर्फ आफ्नै ससुरा अर्जुननरसिंह केसी । पार्टीको मूलधारको प्रतिनिधित्वसमेत कोइराला र केसीकै पक्षमा थियो । सभापति शेरबहादुर देउवा प्यानलमा केसी र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट कोइराला खडा थिए । दुइटै टिमको प्यानलमा ठाउँ नपाएपछि उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा उनी जोडिए ।

प्रतिस्पर्धामा ससुरासमेत जोडिएपछि पारिवारिक सम्बन्धमै तलमाथि होला कि भन्ने भय उनमा थियो । तर, उनी पछि हटेनन् । यसमा उनले समाजसित गरेको वाचा मुख्य कारण थियो । ससुराभन्दाअघि नै उनले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका थिए । १३ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा उनका लागि आफैंमाथिको परीक्षण थियो । ५ सय ८४ मतका साथ उनी तेस्रो स्थानमा रहे । शशांक १४ सय १७ मतका साथ विजयी भए । केसीको १ हजार १७ मत थियो ।

पार्टीमा नेतृत्व परिवर्तनको मुद्दा अहिले चलिरहेको छ । देउवा र पौडेलको पुस्ताबाट अब पार्टी चल्दैन भन्ने विषय जोडतोडले उठिरहेको छ । जुन विषय १३ औं महाधिवेशनमा पनि उठेका थिए । ‘१३ औं महाधिवेशनमा हामी १०/१५ जना युवा निरन्तर जम्मा हुन्थ्यौं । नेतृत्वको विषयमा लामो छलफल गर्थ्यौं । युवामा नेतृत्व हस्तान्तरणको कुरा हुन्थ्यो । त्यतिबेला मैले तपाईंहरू हिम्मत गर्नुहोस्, गर्नुहुन्न भने म गर्छु मलाई साथ दिनुहोस् भनेको थिएँ, कसैले नाइँ भन्नुभएन,’ थापाले सम्झिए, ‘तर भोट हाल्ने बेला म एक्लै लखरलखर हिँड्नुपर्‍यो । युवा साथीहरूकै साथ मैले पाइनँ ।’

अहिले पनि उस्तै परिवेश र अवस्थाबाट नेतृत्वमा आउन थापाजस्ता युवाले ठूलै पापड बेल्नुपर्ने विश्लेषक आचार्यको बुझाइ छ । ‘पार्टीको यही प्रतिनिधिमूलक प्रणालीबाट नेतृत्वका आउनका लागि कि त नेताहरूकै फेर समात्नुपर्छ, कि पालो कुरेरै बस्नुपर्छ,’ उनले भने । थापाको आगामी लक्ष्य स्पष्ट छ, १४ औं महाधिवेशनमा महामन्त्री बन्ने र १५ मा सभापति हुने । पार्टीभित्र मुख्य तीन गुट रहेकामा थापा अहिलेसम्म सिटौला समूहमै छन् । १३ औं महाधिवेशनमा स्वतन्त्र ढंगले नेतृत्वमा आउन सम्भव छैन र तेस्रो धारबाट पार लाग्न पनि मुस्किल छ भन्ने देखाएको छ ।

पार्टी सभापति देउवाले दुई दशकदेखि नै आफ्नो गुटलाई ‘इन्ट्याक्ट’ राखेका छन् । पार्टीभित्रको नेटवर्किङ प्रणालीमा उनी एक्लैको ४० प्रतिशतभन्दा बढी पकड छ । इतरपक्षका सबै (वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सिटौला, शेखर कोइरालासहितको समूह) को संगठनमा करिब ६० प्रतिशत ‘होल्ड’ छ । त्यसमध्ये सिटौला पक्षको करिब ‘१०’ प्रतिशत भएको अनुमान छ । सिटौला पक्षमा जनाधार भएका थापा आफैं हुन् । अहिलेसम्म उनी सिटौला पक्षमा जोडिरहे पनि आगामी महाधिवेशनमा त्यहीँ समूहबाट उम्मेदवार हुने सम्भावना निकै कम छ । कतिपयले उनी सभापति देउवासँगै जोडिए महामन्त्रीको उम्मदेवार बन्ने अनुमानसमेत लगाएका छन् । तर त्यसलाई उनी सत्य मान्दैनन् । देउवासँग उनको विगतदेखि केही सैद्धान्तिक र कार्यशैलीगत विमति छन् । कुलचन्द्र न्याैपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।