
काठमाडौं, २४ साउन । नेपालमा आजदेखि पुनः मनसुन सक्रिय हुने भएको छ ।
न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने भएकाले आज शनिबार रातीदेखि देशका विभिन्न स्थानमा कम्तीमा दुई दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
भारी वर्षाका कारण बाढीपहिरोको जोखिम भएकाले सतर्क रहन पनि महाशाखाले सचेत गराएको छ ।
तराइ क्षेत्रमा न्यून चापीय रेखा पर्ने भए पनि यसको प्रभाव देशभर पर्ने छ । तर, लगातार झरी नपर्ने महाशाखाको पूर्वानुमान छ । तीन दिनपछि क्रमशः मनसुन कम हुँदै जाने पनि महाशाखाको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान सबेरै जारी गरेको सूचनाअनुसार शनिबार बिहान प्रदेश २ र ५ का केही भू–भागहरुमा आंशिक बदली रहने छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदली हुने अवस्था छ ।
यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना महाशाखाले देखाएको छ ।















प्रतिक्रिया