भक्तपुर, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच वार्ता भएको छ ।
एनेकपा माओवादीले वार्ता र छलफल छाडेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि अब के गर्ने भन्नेबारेमा छलफल गर्न साँझ ७ बजे सुरु भएको वार्ता राति सवा नौ बजे सकिएको थियो ।
दुईघण्टा लामो छलफलपछि कानुन मन्त्री एवं नेपाली काँग्रेसका नेता नरहरि आचार्यले एमाओवादी नेतृत्वको मोर्चालाई आन्दोलनका कार्यक्रम छाडेर वार्ता र छलफलबाटै निकास निकाल्न आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
एमाओवादी मोर्चाले रोजेको आन्दोलनले संविधान निर्माण गर्न र वार्ता एवं छलफल गर्नलाई पनि कुनै सहयोग नगर्ने भएकाले आन्दोलनलाई छाडेर वार्तामा आउन आह्वान गरेको उहाँले बताउनुभयो ।
बैठकमा सहमतिमै संविधान निर्माण गर्न काँग्रेस—एमाले सकारात्मक रहेको स्पष्ट भएको बताउँदै उहाँले सहमतिबाटै संविधान बनाउने एक मात्र बिकल्प वार्ता नै भएकाले वार्तामा आउन विपक्षी मोर्चालाई आह्वान गरेको बताउनुभयो ।
संविधान सभा भित्रै बसेर विवादित विषयलाई टुङ्ग्याउन विपक्षी मोर्चालाई काँग्रेस, एमालेले आह्वान गरेको आचार्यले बताउनुभयो ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले विपक्षी मोर्चाको आन्दोलनले निकास नदिने बरु वार्ता र सहमतिको वातावरण पनि बिथोल्ने बताउनुभयो ।
काँग्रेस—एमालेको छलफलमा वार्ता र सहमतिको वातावरण बिग्रन दिन नहुने बारेमा छलफल भएको बताउँदै वार्ताका लागि विपक्षीलाई आह्वान गर्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो ।
आन्दोलन होइन, सहमतिको एकमात्र सफल स्थल संविधानसभा नै भएकाले संविधान सभामा आएर वार्तामा बस्न विपक्षीलाई आग्रह गरेको उहाँले बताउनुभयो ।
संविधानसभाका अध्यक्षले संविधानसभाको बैठक आह्वान गरेमा संविधान निर्माण प्रक्रियाबाटै भए पनि अगाडि बढ्ने बताउँदै उहाँले संविधानसभा बैठक आह्वान गर्नुअघि नै सहमति कायम गर्नका लागि वार्तामा आउन विपक्षीलाई आह्वान गरेको बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, कानुन मन्त्री नरहरी आचार्य र वन मन्त्री महेश आचार्य सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी, एमालेका तर्फबाट एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, प्रमुख सचेतक अग्नि खरेल र सचिव विष्णु पौडेलको सहभागिता रहेको थियो । रासस
















प्रतिक्रिया