
काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निरङ्कुश राजसंस्थाको पक्षमा नरहेको अध्यक्ष कमल थापाले बताएका छन् ।
मुलुकको स्वतन्त्र अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्र नै उत्तम राज्यव्यवस्था प्रणाली हुने बताउँदै आएको राप्रपाका अध्यक्ष थापाले निरङ्कुश राजसंस्था नचाहेको स्पष्ट पारेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा निरङ्कुश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रूपमा अभिभावकीय भूमिका रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।
शासन जनताले गर्ने राजसंस्था एकताको सुत्रको रूपमा अभिभावक मात्र हुने थापाको भनाइ छ ।
९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दु राष्ट्रको पहिचान जोगाउनु पर्नेमा पनि जोड दिए ।

एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पुर्याउनु पर्ने आवश्यकता औंल्याए ।
एक भएको राप्रपा अब कसैले चाहेर फुट्दैन, हामी बलियो र अग्रणी शक्ति बन्यौं, अब जनतामा जान ढिला नगरौं’, कार्यक्रममा थापाले भने ।
कार्यक्रममा महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ, नानु नगरकोटी, राजाराम बर्तौलालगायत नेताहरूको सहभागीता थियो ।















प्रतिक्रिया