
भक्तपुर, २२ साउन । भक्तपुर नगरपालिका–१० भक्तपुर–चाँगु सडक वान्टीमा प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले ठक्कर दिँदा एक जना पदलयात्रीको मृत्यु भएको छ ।
स्कुटरको ठक्करबाट भक्तपुर नगरपालिका–२ भोलाछेका ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
स्कुटरले उनलाई बुधबार दिउँसो ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।
प्रहरीले स्कुटर चालक चाँगुनारायण नगरपालिका–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताएको छ ।















प्रतिक्रिया