३ कार्तिक २०८३, मंगलबार

जुम्लामा बस दुर्घटनामा ज्यान गुमाएका सवै १८ जनाको सनाखत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla_nepal-mapजुम्ला, २ चैत । जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको ना ४ ख ४९७० नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका सवै १८ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा जुम्लाको महावै पातरखोला गाविस–९ का २१ वर्षीया देवु रोकाया, उनका नाम नखुलेका तीन महिनाका छोरा, सोही वडाका १४ वर्षीय जितेन्द्र अधिकारी, कालिकाखेतु गाविस–९ का ३५ वर्षीय रतन शाही, सनिगाउँ गाविस–८ का २५ वर्षीय चालक सागर बुढा, सोही गाविस–२ का ५२ वर्षीय लालविरे शाही र उनका ६ वर्षीय छोरा विजय शाही, सोही गाविस–५ का ४२ वर्षीया रती रोकाया, खराकोट गाविस–६ का २६ वर्षीय राजबहादुर बुढा, बड्की गाविस–९ का ४० वर्षीया पम्फादेवी रावत, सोही वडाका २० वर्षीय पुष्पराज आचार्य, सोही वडाकै ११ वर्षीय बिजु रोकाया, तातोपानी गाविस–४ का सह–चालक १७ वर्षीय रण कामी र कालिकाखेतु गाविस–१ का २० वर्षीया धनलक्ष्मी न्यौपाने रहेका छन् ।

त्यस्तै, कालिकोट जिल्ला फुकोट गाविसका २५ वर्षीय नवराज तिरुवा, कालिकोटकै फोइमहादेव गाविस–४ का ५५ वर्षीया काली बुढा, सोही वडाकै ५० वर्षीया रेशमकला बुढा र सोही वडाकै अर्का सह–चालक २५ वर्षीय हर्क बुढाको ज्यान गएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका १८ जना मध्ये जुम्ला सनिगाउँ गाविस–९ का २४ वर्षीया हिमाली रोकाया, सोही वडाका ३५ वर्षीया शिवकली रोकाया र चन्दननाथ नगरपालिका–९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि हेलिकप्टरमा वाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी निरीक्षक ईन्द्र बहादुर साउदले जानकारी दिनुभयो । अन्य घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा २९ जना सवार रहेको बताइएको छ ।

बस जुम्लाको रारालिही गाविस–१ गाड्गुडेनीमा सडकबाट दुई सय मिटर तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो ।