
सबै मृत्युहरू केही नपाई मरे पनि पटक्कै नमर्ने चिज विशेषता हो । त्यो भनेको विचार । भन्छन् नि मान्छेहरू– गान्धीको विचार । वीपीको विचार । मदन भण्डारीको विचार । अनेक–अनेक मरिसके तर जीवित र चर्चा छ विचार । हो, त्यहि विचार हो– विशेषण ।
अहिलेसम्म प्रचण्ड नाम र भूमिकाका उतारचढावमा चर्चा गरियो । राजनीतिको लहरो नागबेली जस्तो हुन्छ । कति टाढासम्म यसको लक्ष्य रहन्छ थाहा छैन तर पुग्नु अनिवार्य छ ।
कुनै व्यक्तिको गुणगाण होइन, विशेषताको व्याख्याका रुपमा केही चर्चा गरौं । र, राजनीतिले मुलुक चलाउने भएकाले व्यक्ति भन्दा उसको विशेषता महत्वपूर्ण हुन्छ ।
नेपाली समाजशास्त्रमा बुझाईको एउटा त्रुटी छ । जीवित हुन् या मृत मानिसको नामको सम्बोधनको अर्थ व्यक्तिवादी भएर बुझिदिन्छ । सामाजिक सञ्जालमा लेखिदिएँ– प्रचण्ड विशेषण हुन् । यसको गहनता र चुरोका विविधतासँग कोही गाँसिएन । बस केन्द्रित भयो त व्यक्तिवादी कित्तामा ।
धेरै पर्दैन, २० बर्षअघिदेखि १० बर्षअघिसम्मको प्रचण्ड नाम माथिका चलेका काल्पनिक बहसका केही वाक्यबाट अघि बढौं ।
अखबारमा आउने एउटा धुमिल तस्बिरको नाम थियो– प्रचण्ड । कतिपयलाई त पुष्पकमल दाहाल वा छविलाल दाहालको विशेषतायुक्त नाम प्रचण्ड हो भन्ने पनि थाहा थिएन । यथार्थसँग घोत्लिऔं । कतिले भन्थे– राजा ज्ञानेन्द्र नै प्रचण्ड हुन् ।
यस्ता अनेक अड्कलबाजीका अनेक चर्चा भए । प्रचण्ड किन विशेषण हो भन्ने अर्को तर्कचाहिँ शान्ति सम्झौताको हस्ताक्षर हो । एकातिर सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री र अर्कातिर विद्रोहका नेतृत्वकर्ता प्रचण्डको हस्ताक्षर थियो । व्यक्तिलाई गौण राखौं, आखिरमा भएको सम्झौताचाहिँ गिरीजाप्रसाद कोइराला र पुष्पकमल दाहालबीचको थिएन, प्रधानमन्त्री र प्रचण्डबीचको थियो भन्ने बुझ्न आवश्यक छ । कतिपयले विद्रोही माओवादीसँगको सम्झौता थियो भन्ने प्रश्न उठाउलान् । तर, सारमा के हो भने राज्यको नेतृत्व प्रधानमन्त्री र विद्रोहको नेतृत्व प्रचण्डले नै गरेको विशेषता विर्सन हुन्न ।
प्रचण्ड विशेषतासँग पुष्पकमल दाहालको व्यक्ति हावी भयो या भएन भन्ने फरक पाटोको चर्चा हुनेछ । यो भूमिकाको विषयमा धेरै धेरैमाथि चर्चा गर्न सकिन्छ । तर, अहिले किन विशेषण भनियो भन्ने विषयकै व्याख्यामा केन्द्रित बनौं ।
व्यक्तिमाथि पनि चर्चा गरिएको छ । स्वभाव र परम्परागत हिँडाईमाथि बहस नभएको होइन ।
यो लिंक नेकपा अध्यक्ष प्रचण्ड : पाण्डवको सहयोगी बन्न हिँडेका साल्य, कौरबहरूको सेनापति भए ! मा छ ।
दमित, प्रताडित बनाइएको राजनीतिक चेतमाथि प्रजातान्त्रिक प्रणाली भनी सत्तामा जानका लागि हारालुछ मात्र होइन, अनेक प्रकारका राष्ट्रघाती सम्झौता गर्ने, सामाजिक चेतलाई पैतालामा राख्ने प्रयत्न गर्नेहरूसँगको कुममा कुम जोडेको अवस्था देखिएका पुष्पकमल दाहाल फरक हुन सक्लान् तर ति दमित, प्रताडित र अधिकारबाट बञ्चित, अराजनीतिक गतिविधिसहित प्रताडनामा राखिएकालाई राजनीतिक चेतको विगुल छर्ने प्रचण्ड उही हो, त्यसैले विशेषण हो
पुष्पकमल दाहाल नाम हो । प्रचण्ड, विशेषता । यो उपनाममा चलेको आन्दोलन या युद्धले शान्ति प्रक्रिया हुँदै पाएको सम्झौताको राजनीतिक परिणाममा अहिले हामी छौं । यस अर्थमा प्रचण्डको विशेषता समय पनि मान्नुपर्छ, मौलिक सन्दर्भमा ।
०६४ यता प्रचण्डकै अनेकतामा विश्लेषण गर्दै आएको छु । यो नामको राजनीतिक गतिशिलतादेखि टुटफूट र फेरि जुटसम्मको कार्यकलापका प्रभावबारे कोट्याएको छु । किनभने माओत्सेतुङले भनेका छन्– सीमित पुस्तक पढ, धेरै पुस्तकको अध्ययन निक्कै गाह्रो हुन्छ ।
नेपाली कम्युनिस्ट वा गैर कम्युनिस्ट राजनीतिको विन्दुमा प्रचण्डमाथिको अध्ययन मात्रै पनि एउटा कठोर शोध हुनेछ । माथि उल्लेख गरेअनुसार ‘प्रचण्ड’ काल्पनिक हो कि बास्ताविक हो भन्ने प्रश्न र कौतुहलताले १० बर्ष मानिसलाई रनभुल्लमा पारेको थियो । के त्यो यथार्थबाट अहिले नै पर भागेर जान सकिन्छ ?
माओवादी युद्धको जगजगी भएको बेला भर्खरै पत्रकारिताको कखरामा लागेको थिएँ । रिपोर्टिङ क्रेज बनिरहेको बेला उदयपुरको पहाडी भेगमा पुगें । एउटा सामुदायिक बनको साधारण सभाको समाचार संकलनका लागि पुग्दा विद्यालयको गेटमा तुल थियो – माक्र्सवाद, लेलिनवाद, माओवाद र प्रचण्डपथ ।
त्यहिँ नै प्रचण्ड विशेषण हो भन्ने पक्कापक्की भयो । यदि माक्र्स, लेलिन र माओवादलाई व्यक्तिवाद भनियो भने भूलचुक हुनेछ । यहि लयमा प्रचण्ड एउटा विशेषण नै हो ।
तर, प्रश्नहरू मेरो पनि छन्– प्रचण्ड भन्ने विशेषणमा नाम हावी भयो कि ? यो भयो भने गलत हुनेछ । आलोचना हुनेछ । तर जबसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगका कामदेखि शान्ति प्रक्रियामा अन्य विषयले किनारा पाउँदैन तहिलेसम्म प्रचण्ड विशेषणको शेष रहन्छ, निरन्तर । यसलाई कसैले नकारेर नकार्न सक्तैन ।
पछिल्लो राजनीतिक गतिमा पनि यो विशेषणले काम गरेका उदाहरण छन् । एउटा मात्र कामको नतिजाले पनि मानिसको विशेषता हुन्छ ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला गरिएको उज्यालो नेपालको मूर्त काम उदाहरणीय छ । प्रचण्डको निर्देशन या इच्छामा भनौं, कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा ल्याउनुले पाएको परिणाम हो । त्यसैले त अहिले आम मानिस प्रत्यक्ष रुपमा कुलमानको कामलाई सलाम गरिरहेका छन् । त्यसको नेपथ्यको निर्णय र कारण प्रचण्ड होइनन् भन्न सकिन्न ।
राजनीतिक चेतमा पनि उसको त्यहि भूमिका प्रखर बनिदियो । चेतको सामान्य विकासले पनि नाम विशेष हुन्छ भन्ने विषयलाई नजरअन्दाज गर्न हुँदैन ।
दमित, प्रताडित बनाइएको राजनीतिक चेतमाथि प्रजातान्त्रिक प्रणाली भनी सत्तामा जानका लागि हारालुछ मात्र होइन, अनेक प्रकारका राष्ट्रघाती सम्झौता गर्ने, सामाजिक चेतलाई पैतालामा राख्ने प्रयत्न गर्नेहरूसँगको कुममा कुम जोडेको अवस्था देखिएका पुष्पकमल दाहाल फरक हुन सक्लान् तर ति दमित, प्रताडित र अधिकारबाट बञ्चित, अराजनीतिक गतिविधिसहित प्रताडनामा राखिएकालाई राजनीतिक चेतको विगुल छर्ने प्रचण्ड उही हो, त्यसैले विशेषण हो ।
प्रश्नहरू छन् । आलोचनाहरू छन् । अवस्थाको नजरअन्दाज गरिदिएर सत्ता वा पार्टी राजनीतिको उही चक्रव्युह चालको खेलकै वरिपरि त हैन ? भन्ने प्रश्न पनि छन् । यद्यपि आशा र निकासका अनेक प्रकारका महत्व पनि उही नामसँग जोडिन्छ ।
राणा शासनको अन्त्य, पञ्चायतको अन्त्यपछि कुनै विशेषणको खाँचो थिएन । तर बनाइयो, किन ? बन्न पुग्यो कसरी ? यसको कुनै महत्व र अर्थ नभएको भए हुन सक्थ्यो त ? तर, त्यो परम्परागत शैली र ढर्राको महाजालमा कतै पुष्पकमल दाहाल नामले प्रचण्ड विशेषण र चेतलाई पनि पेलिरहेको त छैन ? यो प्रश्न अविछिन्न रुपमा प्रचण्डकै वरिपरि मडारिएर घुमिरहनेछ, यसैले महत्वलाई स्थापित गर्ने कि प्रतिस्थापित विकल्पसहित ।













प्रतिक्रिया