३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले भने–‘वार्ता प्रयास गरिएपनि एमाओवादी मोर्चा सहमतिमा आउनै चाहँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaकाठमाडौँ, २ चैत । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी लगायतका विपक्षी दलसँग पनि सहमतिको लागि प्रयास जारी रहेको बताउनुभएको छ ।

व्यवस्थापिका-संसद्को विकास समितिको बैठकमा प्रधानमन्त्री कोइरालाले एमाओवादी मोर्चासंग वार्ताबाट प्रयास गरेपनि सहमतिमा आउन नचाहेको आरोप लगाउनुभएको हो ।

उहाँले मुलुकले फेरि पनि द्वन्द्व र विग्रह धान्न नसक्ने बताउँदै भन्नुभयो-‘संविधान सहमतिका आधारमा नै निर्माण हुन्छ, सहमति त वार्ताको टेबलमा बसेर हुन्छ, विगतमा लडाकु र हतियारको व्यवस्थापन पनि सहमतिमा नै भयो, लडाकु शिविर खाली गर्ने काम सम्पन्न भयो । हाल देखिएको विवाद पनि समाधान हुन्छ ।’

लोकतान्त्रिक संविधान निर्माण गर्नेमा सबैको एकमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सङ्घीयता, समावेशीतालगायतका विषयबाट कोही पनि बाहेक हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिले सम्पूर्ण विकास निर्माणका काममा बाधा पुर्‍याएको बताउनुभयो । विकास नै देशको गहना भएको बताउँदै प्रधानमन्त्री कोइरालाले विकासमा राजनीति नगर्न सबै दलसंग आग्रह गर्नुभयो ।

उहाँले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ तराई द्रूतमार्ग अगाडि बढाउन सरकार जस्तोसुकै सहयोग गर्न तयार बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्नखालका समस्या आएपछि मुलुकको प्रतिष्ठामा नै आँच आएको उल्लेख गर्दै उहाँले ती दुई आयोजना समयमा नै निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कोइरालाले विकास निर्माणलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । मुलुकमा स्थायी शान्ति र राजनीतिक स्थायित्व नहुँदासम्म विकास निर्माणको काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सहज वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

विगतमा लगानीको वातावरण नभएकाले विकास तथा आर्थिक समृद्धि हुन नसकेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले भएका स्रोत तथा साधनलाई उपभोग गर्न सरकारी संयन्त्रको पनि प्रभावकारी परिचालनको आवश्यकता औँल्याउनुभयो ।