२९ आश्विन २०८३, बिहिबार

बोटलर्स नेपाल तराईका मजदुर फेरि आन्दोलित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ साउन । भरतपुरको गोन्द्राङस्थित बोटलर्स नेपाल तराईमा कार्यरत ४८ जना मजदुरहरू पुनर्बहालीको माग गर्दै फेरि आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले बुधवार पत्रकार सम्मेलन गरी कम्पनीले आफूहरूलाई जबरजस्ती हटाएर रोजीरोटी खोसेको भन्दै पुनर्बहालीको माग गरेका हुन् । ‘बोटलर्स नेपाल तराईले हामी अखिल नेपाल ट्रेड युनियन महासंघमा आबद्ध मजदुरहरूलाई रोजगारीबाट हटाएको हुनाले हामी ४८ जना मजदुरहरू आन्दोलित भएका छौं’, आन्दोलनरत बुद्धिमान सेञ्चुरीले भने, ‘आन्दोलनका कार्यक्रमअन्तर्गत यतिबेला शान्तिपूर्ण धर्नाको कार्यक्रम चलिरहेको छ ।’ निष्कासित मजदुरहरू कम्पनीअगाडि धर्नामा बसेका छन् ।

कम्पनी अन्तर्गतको वेयर हाउस विभागमा रहेर उनीहरू लोड–अनलोडमा काम गर्दै आएका थिए । कम्पनीमा ती मजदुरहरू ५ वर्षदेखि १० वर्षसम्म काम गर्दै आएका पुराना मजदुर हुन् । सबै मजदुरहरू स्थानीय भएकाले आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेञ्चुरीले पुराना हटाएर नयाँलाई प्राथमिकता दिनु अन्याय भएको बताए । पुनर्बहाली नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

उनीहरूले वेयर हाउस विभागमा अस्थायी रूपमा कार्यरत श्रमिकहरूलाई श्रम ऐन, २०७४ ले तोकेबमोजिम सामाजिक सुरक्षालगायत सम्पूर्ण सेवा तथा सुविधा दिनुपर्ने माग समेत गरेका छन् ।

बोटलर्स नेपाल तराईले भने ठेकेदार कम्पनीबाट राखिएको मजदुर भएकाले कम्पनीसँग सरोकार नरहेको जानकारी दिएको छ । ती मजदुरहरूले उपदान रकमसमेत लिएको कम्पनीको दाबी छ । हाल आन्दोलित मजदुरहरू पवन ढुवानीबाट काममा राखिएको कम्पनीको भनाइ छ ।

मजदुरहरले स्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरूको माग पूरा नभए मालसामान तथा कच्चा पदार्थ ढुवानीसम्बन्धीका सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइनुका साथै तालबन्दीसमेत गरिने चेतावनी दिएका छन् । यसअघि पनि उनीहरूले कम्पनीअगाडि धर्ना दिएका थिए । तर कम्पनीले माग सम्बोधन सुनुवाई भएको थिएन ।