२९ आश्विन २०८३, बिहिबार

अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा दक्षिण अफ्रिकालाई ४ अर्ब ३० करोड डलर सहायता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १३ साउन । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना भाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई ४ अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको चुनौतीपूर्ण बनेको स्वास्थ्य अवस्था र गम्भीर आर्थिक प्रभावलाई सम्बोधन गर्न आपतकालीन आर्थिक व्यवस्था (आरएफई) मार्फत उक्त सहायता दिन लागिएको उल्लेख छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिकामा सबैभन्दा बढी औद्योगिक कलकारखाना रहेका छन् । यहाँ सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । सोमवारसम्ममा ४ लाख ४५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ हजार ७६९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाका अर्थमन्त्री टिटो माबोवेनीले मुलुकको अर्थतन्त्र यस वर्ष सन् २०२० मा करीब ७ दशमलव २ प्रतिशतले खुम्चने पूर्वानुमान गरेका छन् । दक्षिण अफ्रिकाको ९० वर्षको इतिहासमा यो सबैभन्दा बढी खुम्च्याइ हो । मन्त्री टिटोले व्यापक रूपमा बढेको सार्वजनिक ऋण अर्को चुनौतीको रूपमा देखिएको बताएका छन् ।

दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्राकोषबाट प्राप्त हुने रकम ऋण स्थिर राख्न, रोजगारी सृजना गर्न, कोभिड–१९ सँग जुध्नुपर्ने स्वास्थ्यकर्मीलाई मद्दत गर्न तथा आर्थिक वृद्धि हुने गरी अर्थतन्त्रलाई सुधार गर्न खर्च गरिने बताएको छ ।

मुद्राकोषका उपव्यवस्थापक जियोफ्री ओकामोटोले दक्षिण अफ्रिकाको न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र व्यापक बन्दै गएको असमानताले मुलुकको समग्र अर्थतन्त्र गहिरो मन्दीतर्फ जान लागेको बताए । मुद्राकोषको आरएफआई कार्यक्रममार्फत प्राप्त हुने रकमबाट दक्षिण अफ्रिकाको भुक्तानी सन्तुलनमा मद्दत पुग्ने छ । रासस