३ कार्तिक २०८३, मंगलबार

सम्बन्ध सुधार्न भारतीय एसएसबीद्वारा सीमामा साइकल यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

17TH_SSB_1490029f

धनगढी, १ चैत्र । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल–भारत सीमा क्षेत्रमा सुरु गरेको साइकल यात्रा आज कैलाली जिल्लाको सीमा नाका गौरीफन्टामा आइपुगेको छ ।

सीमा क्षेत्रमा आवागमन गर्ने नागरिकसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले भारत उत्तराखण्डको कालापानीबाट यही मार्च १ (फागुन १७ गते) सुरु गरिएको साइकल यात्रा नेपाल–भारत सीमा क्षेत्र हुँदै आज गौरीफन्टा सीमा नाका आइपुगेको हो ।

एसएसवीका जवान र अन्य गरी २५ जना सहभागी रहेको सो साइकल यात्रा आगामी अप्रिल २१ गते सिक्किम पुगेर समापन गरिने एसएसवीले जनाएको छ । कालापानीदेखि सिक्किमसम्मको सीमा क्षेत्रको करिब एक हजार ९४० किलोमिटरको दूरी साइकल यात्राले पार गर्ने जनाइएको छ ।

गौरीफन्टा पुगेपछि आयोजित पत्रकार सम्मेलनमा साइकल यात्रामा सहभागी एसएसवीका सहायक अधिकारी प्रभुल्ल शङ्करले साइकल यात्राका क्रममा सीमा क्षेत्रमा पर्ने करिब १२० भन्दा बढी सीमा नाकामा स्थानीयबासीसँग सम्बन्ध सुधारलगायत विषयमा अन्तरक्रियाका साथै ठाउँठाँउमा स्वास्थ्य शिविरसमेत आयोजना गरिने बताउनुभयो ।

यसअघि, गत भदौ महिनामा एसएसवीले गौरीफन्टा सीमा नाकामा नेपाल–भारतमैत्री दौड प्रतियोगिताको आयोजना गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा नागरिकसँग सम्बन्ध सुधार गर्ने भन्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस क्रममा गौरीफन्टा सीमा नाकामा नेपाल र भारतका प्रधानमन्त्रीको तस्बिरसमेत टाँगिएको थियो । एसएसवीले सम्बन्ध सुधारको प्रयास गरेको भएपनि सीमामा भारतीय भन्सार अधिकारीबाट नेपालीमाथि दुव्र्यवहार गर्ने प्रवृत्ति भने नरोकिएको पीडितले गुनासो गरेका छन् । रासस