२ कार्तिक २०८३, सोमबार

निजीको चाप, सार्वजनिक सवारी कम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए। तीन–चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए।

चार महिना लामो लकडाउन हटेको दिन तामाङजस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए। स्वयम्भू–सुन्धारा माइक्रो चलाउने विष्णुलाल श्रेष्ठले चार महिनापछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए। चार यात्रु लिएर आएका उनको गाडी फर्किने बेला खाली थियो। यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए।

‘आज (बुधबार) देखि गाडी चलाउन थालेको हुँ’, उनले भने, ‘यात्रु छैनन्। एक सिट खाली गरेर राख्नुपर्छ। तेल खर्च उठाएर खाना खान पुर्‍याउन मुस्किल छ। ’

सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ। एउटा सिट खाली राखेर यात्रु चढाउनुपर्छ। राजधानीका अधिकांश ठाउँमा यो नियम लागू गरेरै गाडी चलाएको देखियो। तर, सार्वजनिक सवारी भने कमै चलेका थिए।

सुन्धारामा खटिएका ट्राफिक प्रहरी बलदेव भट्टले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए। ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन। ’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले बताए।

काठमाडौं उपत्यकाभित्रका लामो दूरीका सवारीमा भने अन्य क्षेत्रको तुलनामा यात्रुको चाप देखिन्थ्यो। काठमाडौंबाट भक्तपुरतिर जाने गाडीमा भने अन्य क्षेत्रभन्दा यात्रुको संख्या बढी थियो। केही सवारीले सिट खाली नराखी पनि कुदाइरहेका थिए।

काठमाडौं–भक्तपुर रुटका चालक लक्ष्मीनारायण सुवालले यस रुटमा यात्रु बढी चढ्ने गरेको बताए। ‘अहिले यो रुटमा चैं यात्रुहरू धेरै नै छन्’, उनले भने, ‘कार्यालय समयमा त सिट खाली हुँदैन। तर, धेरै चढाउन पाइँदैन। ’

सरकारले लकडाउन हटाएसँगै बुधबार काठमाडौंका सडकमा सवारीसाधनको चाप देखियो। बानेश्वर, गौशाला, चाबहिल, कोटेश्वरलगायत मुख्य चोकमा सवारी जामसमेत हुन थालेको छ। सडकमा मान्छेको चहलपहल पनि बढेको छ। तर, निजी सवारीको तुलनामा सार्वजनिक यातायातका साधन बुधबार कम देखिए।

सार्वजनिक यातायात राख्ने मुख्य स्थान खुला थिए। पुरानो बसपार्क सुनसान देखिन्थ्यो। केही बस मात्र सडकमा गुडेका थिए। ती गाडीमा यात्रु पनि फाट्टफुट्ट मात्र देखिन्थे। प्रायः यात्रु मास्क लगाएर सुरक्षित साथ यात्रामा देखिन्थे। केहीले भने मास्क चिउँडोमा अल्झाएको पाइयो। कतिपय त मास्कबिनै थिए। उपेन्द्र अर्यालले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।