२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानको चर्चमा आतंकवादी तालिवानको आक्रमणमा १४ को मृत्यु, ७० गम्भिर घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PAKISTAN-UNREST-RELIGION-CHRISTIANSपाकिस्तान, १ चैत । पाकिस्तानका दुई चर्चमा आइतबार दुई तालिवान आत्मघाती बम आक्रमणकारीले गरेको आक्रमणमा चौध व्यक्तिको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । यसपछि फैलिएको हिंसामा लडाकू आशङ्का गरिएका अन्य दुई व्यक्तिको मृत्युभएको छ ।

लाहोर नगरको युहनावाद जिल्लामा एक किलोमिटरको दुरीमा रहेका दुई चर्चमा प्रार्थनाको समयमा उक्त बम आक्रमण भएको थियो । यस जिल्लामा करिब एक लाख क्रिस्चियन बसोबास गर्ने गरेको जानकारी अधिकारीहरूले दिएका छन् ।

नजिकैको जनरल हस्पिटलका चिकित्सा सुपरिन्टेन्डेन्ट डा। मोहमद सयिद सोहबिनले आफूहरूले १८ शव प्राप्त गरेको र ७० व्यक्ति घाइते भएको जानकारी दिनुभयो । उहाँले यसमा लडाकू आशङ्का गरिएका व्यक्तिको शव समावेश नभएको बताउनुभयो ।

लाहोरका उच्च स्वास्थ्य अधिकारी जाहिद पर्वेजले ती व्यक्तिको मृत्यु भएको पुष्टि गर्नुभयो र दुबै घटनामा ७८ व्यक्ति घाइते भएको जानकारी दिनुभयो ।

विस्फोटस्थलवरपर झ्यालका फुटेका ऐना, रगत तथा जुत्ता छरिएको देखिएको छ ।

यसअघि प्रहरी प्रवक्ता नबिला गजनफरले यस आक्रमणमा काममा रहेका दुई प्रहरीको पनि मृत्युभएको जानकारी दिनुभएको थियो । उहाँले विस्फोटपछि सडकमा प्रदर्शनकारीले दुई व्यक्तिलाई कुटेर मारेको बताउनुभयो ।

काममा रहेका प्रहरीले दुबै ढोकामा आक्रमणकारीलाई रोक्न प्रयास गरेको तर उनीहरूले आफूलाई विस्फोट गराएको प्रवक्ताले बताउनुभयो ।

यसपछि क्रुद्ध भीडले आक्रमणकारीको साथी ठानेका दुई व्यक्तिलाई कुटेर मारेको उहाँले बताउनुभयो ।

एएफपीका फोटोग्राफरले लडाकू ठानिएका दुई व्यक्तिलाई कुटिएपछि उनीहरूलाई आगो लगाएको आफूले देखेको बताए । उक्त समयमा ती व्यक्ति अझै जीउँदै थिए कि थिएनन् भन्ने स्पष्ट भएको छैन ।

पाकिस्तानको तालिवान जमात–उल–अहरर समूहले आमसञ्चारलाई इमेलबाट पठाएको सन्देशमा उक्त विस्फोट आत्मघाती आक्रमण भएको बताउँदै पाकिस्तानमा इस्लामी कानुन लागु गर्न यस्तो अभियान निरन्तर रहने दृढता व्यक्त गरेको छ ।

पाकिस्तानको १८ करोड जनसङ्ख्यामा क्रिस्चियनको सङ्ख्या दुई प्रतिशत रहेको छ । हालका वर्षमा उनीहरूमाथि आक्रमण हुने गरेको छ । प्रायः गरी क्रिस्चियनले कुरान वा धर्मगुरु मोहम्मदप्रति अनास्था फैलाएको आरोप लगाउने गरिन्छ ।

पाकिस्तानको उत्तरपश्चिमी नगर पेसावरमा सन् २०१३ को सेप्टेम्बरमा दुई आत्मघाती बम आक्रमणमा ८२ व्यक्तिको मृत्यु भएपछि आइतबारको आक्रमण उक्त समुदायमा सबैभन्दा क्षतिकारक आक्रमण भएको देखिएको छ ।

आइतबार सयौँ क्रिस्चियनले प्रहरीसँग भिडन्त गरेका छन्, उनीहरूले गाडीमा ढुङ्गा तथा लट्ठीले हानेका छन् ।

प्रधानमन्त्री नवाज सरिफले एक विज्ञप्ति प्रकाशन गरी बम आक्रमणको भत्र्सना गर्नुभएको छ र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न प्रान्तीय सरकारलाई निर्देशन दिनुभएको छ ।

क्रिस्चियनहरूले पाकिस्तानको सबैभन्दा ठूलो नगर कराचीका साथमा अन्य नगरका सडकमा पनि प्रदर्शन गरेका छन् । कराचीमा प्रदर्शनकारीले मुख्य सडक अवरुद्ध पारेका छन् र टायर बालेका छन् ।

पाकिस्तानमा तालिवानका तीन प्रमुख समूहले आफूहरू एक भएको बिहीबार बताएपछि उनीहरूले आइतबार आक्रमण गरेका हुन् ।

डिसेम्बर महिनामा पेसावरको एक विद्यालयमा तालिवान बन्दुकधारीले आमहत्या गरी १५० व्यक्ति मारेपछि सेनाले तालिवानविरुद्ध आक्रमण अगाडि बढाएको छ । उक्त आक्रमणमा मर्नेमा प्रायः बालबालिका परेको बताइएको छ ।

यसबीच मृत्युदण्ड कार्यान्वयनमा लगाइएको रोक हटाइएको छ भने आतङ्कवादका मुद्दा हेर्न सैनिक अदालत गठन गर्न संविधानमा संशोधन गरिएको छ । रासस/एएफपी