काठमाडाैं, ४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको पूर्वनिधारित अन्तिम मिति कायमै राखेर असार १७ गतेको केन्द्रीय समिति बैठकमा संशोधित कार्यतालिका प्रस्ताव गरे। कोरोना संक्रमणसँगै पूर्वर्निधारित कार्यतालिका प्रभावित हुँदै जाँदा धेरै केन्द्रीय सदस्यलाई आशंका थियो– पार्टी महाधिवेशन फेरि केही महिना धकलिनेछ। तर, १३औं महाधिवेशनयता सभापति देउवा र नेता पौडेल पहिलोपटक एकमत भए पूर्वनिर्धारित आगामी फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्न।
पार्टीका दुई शीर्ष नेता एकमत भएसँगै अधिवेशनको संशोधित कार्यतालिका आएपछि धेरै नेता–कार्यकर्ता महाधिवेशन अब फागुनमै हुनेमा ढुक्क देखिए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताले केन्द्रीय समिति बैठक र अनौपचारिक छलफलमा दुई नेता पहिलोपटक मिलेर प्रस्ताव ल्याएकोमा खुसी व्यक्त गरे। तर, गत फागुनमा सकिनुपर्ने संगठन समायोजनको कामसमेत नसकिएको भन्दै उनीहरूले आगामी फागुनमै महाधिवेशन हुनेमा आशंका पनि व्यक्त गरे। ‘सभापति देउवाले फागुनमा महाधिवेशन हुन्छ र वरिष्ठ नेता पौडेलले हुनैपर्छ भनेपछि हुँदैन भन्न त सकिएन तर अब वैशाख या जेठमा महाधिवेशन गर्नेगरी तयारी थाल्यो भने राम्रोसँग सम्पन्न गर्न सकिन्छ,’ छलफलमा नेताहरूले राय दिए। तर, सभापति देउवा र नेता पौडेल महाधिवेशनको पूर्वनिर्धारित मिति सार्न तयार भएनन्।
पौडेलसहित असन्तुष्ट पक्षले सभापति देउवामाथि महाधिवेशन गर्न तयार नभएको आरोप लगाउँदै आएको छ। फेरि महाधिवेशन मिति सार्दा त्यही आरोप खेप्नुपर्ने भयले देउवाले असन्तुष्ट पक्षभन्दा अघि बढेर फागुनमै महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको एक नेताले दाबी गरे। ‘पूर्वर्निधारित कार्यतालिकाअनुसार संगठन समायोजन, सदस्यता वितरणसहितका काम अघि बढेको भए पनि फागुनमा महाधिवेशन हुनेमा आशंका थियो,’ ती नेताले भने, ‘कोरोनाका कारण चार महिना कार्यतालिका प्रभावित भएको छ। यस्तो अवस्थामा फागुनमै गर्ने हो भने विधि पु¥याउने कुरा मात्र हुन्छ।’
केन्द्रीय सदस्य शेखर कोइराला पार्टी पदाधिकारीको इच्छाशक्ति भए फागुनमा महाधिवेशन गर्न सकिने बताउँछन्। संशोधित कार्यतालिकाअनुसार कार्यसम्पादनका लागि पदाधिकारीले पार्टीका सबै तहमा सोहीअनुसारको निर्देशन दिनुपर्ने, केन्द्रीय सदस्य र जिल्ला सभापतिले पनि सहयोग गरे महाधिवेशन फागुनमै सम्भव रहेको दाबी उनले गरे। ‘कार्यतालिका बनाएर मात्र हुँदैन, कार्यान्वयनमा जानुपर्छ,’ कोइरालाले भने, ‘त्यसका लागि पार्टी पदाधिकारीमा इच्छाशक्ति चाहिन्छ। त्यसो भयो भने नहुने कुरै छैन। हुन्छ। गर्नुपर्छ।’ नागरिक दैनिकमा बालकृष्ण अधिकारीले समाचार लेखेका छन् ।















प्रतिक्रिया