काठमाडौं, ३ साउन । सरकारले कोभिड–१९ को संकटका कारण धर्मराएको अर्थतन्त्रलाई जुर्मुराउने गरी शुक्रबार मौद्रिक नीति ल्याएको छ ।
सुस्त अर्थतन्त्रलाई पुनरुत्थान र चलायमान गराउने गरी सो मौद्रिक नीति ल्याइएको हो । मौद्रिक नीतिमार्फत कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थानलक्षित विशेष कार्यक्रम ल्याइएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आव २०७७-७८ को मौद्रिक नीति सार्वजनिक गर्दै पुनर्कर्जा, कोभिड–१९ बाट अतिप्रभावित पेसा–व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणमार्फत राहतै राहत घोषणा गरेका छन् ।
अधिकांश माग समेटिएर मौद्रिक नीति सार्वजनिक भएपछि उद्योगी व्यवसायी उत्साहित भएका छन् । गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएपछि व्यवसायी उत्साहित भएका हुन् ।
मौद्रिक नीतिमा व्यवस्था गरिएको राहत र कार्यक्रमका कारण लकडाउनले समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रलाई राहत दिने गरी आएको मौद्रिक नीतिले व्यावसायिक वातावरण सुधारिने र लगानी बढाउने अपेक्षा निजी क्षेत्रले गरेको छ । पूर्णभक्त दुवालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया