काठमाडौँ, १ चैत । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
पार्टी एकताको विषयलाई लिएर दुई पार्टीबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा वार्ता भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य पार्टीबीच भएको वार्तामा छिट्टै पार्टी एकीकरण गर्ने समझदारी भएको छ ।
एकता प्रक्रिया अगाडि बढाउन वार्तापछि दुवै पार्टीका शीर्ष नेता सहभागी रहेको कार्यदलसमेत गठन गरिएको छ ।
कार्यदलमा नौ सदस्य छन् । कार्यदलमा एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी हुनुहुन्छ ।
माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देवप्रसाद गुरुङ सदस्य रहनुभएको छ ।
पार्टी एकताका विषयमा केही सैद्धान्तिक विषयमा मतभेद रहेको भए पनि त्यसलाई क्रमशः हल गर्दै जाने सहमतिसमेत दुई पार्टीका बीचमा भएको छ ।
वार्ता समिति नाम दिइएको कार्यदलले एकताका आधार तयार पार्ने, साङ्गठनिक र जिम्मेवारी लगायतका विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको छ ।
मुलुकमा बढ्दै गएको प्रतिगमन, राष्ट्रघात र जनजीविका विषयलाई लिएर संयुक्त आन्दोलन उठाउनेसमेत दुई पक्षबीचको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माओवादीले एकताका लागि एमाओवादीसमक्ष पाँच बुँदे प्रस्ताव अगाडि सारेको थियो । सो प्रस्तावमा एमाओवादीले सकारात्मक प्रतिक्रिया दिएपछि वार्ता सुरु भएको थियो । पार्टी एकीकरणका लागि दुवैपार्टीका युवा नेताले दबाब दिँदै आएका थिए ।
विभाजन भएको दुई वर्षपछि दुई पार्टीबीच एकता हुन लागेको हो । माओवादी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म माओवादीका नाममा पाँचवटा पार्टी गठन भइसकेका छन् ।
















प्रतिक्रिया