काठमाडौं, २ साउन । सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ। ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन्।
विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा बसे। साथमा वरिष्ठ नेता माधव नेपालसमेत राखिए। तर, दुवै पक्ष पुरानै अडानमा अड्किए।
स्रोतका अनुसार बिहीबारको बैठकमा एउटा सकारात्मक संकेत भने मिलेको छ– शुक्रबार स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत सामेल हुने। भदौ पहिलो साता केन्द्रीय समितिले बैठक बोलाउने र विवादलाई त्यसमा लग्ने। ‘अब स्थायी समिति बैठकले समसामायिक केही प्रस्ताव मात्र पारित गर्नेछ। प्रधानमन्त्रीको राजीनामा, सरकार र पार्टी कामको समीक्षालगायत सबै विषय अर्को महिना हुने केन्द्रीय समितिमा लगिने भएको छ’, एक स्थायी समिति सदस्यले भने।
स्थायी समिति बैठक बसेर केन्द्रीय समिति बोलाउनेमा प्रधानमन्त्री ओली पनि बिहीबारको छलफलमा सकारात्मक देखिएको दाहाल–नेपाल समूहका नेताहरूको भनाइ छ। ‘प्रधानमन्त्री पनि बैठकमै फेस गर्छु भन्नेमा आइपुग्नु भएको छ,’ उक्त समूहका एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘अब विषय सबै केन्द्रीय समितिमा जान्छन्। केन्द्रीय समिति सार्वभौम सम्पन्न निकाय भएकाले त्यही छलफल हुन्छ र निर्णय आउँछ।’
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दाहाल र नेपालले एकै स्वरमा प्रधानमन्त्री कूटनीतिक र राजनीतिक रूपमा पनि असफल भइसकेको र अब पनि निरन्तरता दिँदा त्यसले दीर्घकालीन असर पार्टी र सरकारलाई नै पुग्ने भन्दै ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए। उनीहरूले ओलीलाई ‘तपाईंबाट पार्टी र देश दुवै चलेन, अब चल्दैन पनि, लामो समय देश र पार्टीलाई बन्धक नबनाउनुहोस्, अध्यक्ष रहनुहोस्, प्रधानमन्त्रीबाट भने जसरी हुन्छ राजीनामा दिनुहोस्’ भनेर आग्रह गरेका थिए।
तर ओलीले दाहाल र नेपाललाई तपाईंहरूसँग छलफलका लागि मेरो राजीनामाबाहेक अन्य विषय नै छैन ? भन्दै प्रतिप्रश्न गरेका थिए। ओलीले राजीनामा त आफूले दिँदै नदिने भन्दै आफ्नो पुरानै अडानलाई दोहो¥याएका थिए।
‘उहाँ (प्रधानमन्त्री)को अडान पनि आफ्नै छ। राजीनामा दिन्नँ, सकेको गर्नुहोस् भन्ने कुरामै प्रधानमन्त्री अडिइरहनु भएको छ, कुरो त्यही मिलेको छैन,’ छलफल पछि नेताहरूको बिफ्रिङ सुनेका एक सचिवालय सदस्यले भने ।
शुक्रबारको स्थायी समिति बैठक अगाडि बिहान दुई अध्यक्षका बीचमा पुनः छलफल पनि हुनेछ। नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्बाङले दुई अध्यक्षका बीचमा बिहान ९ बजे बालुवाटारमा छलफलका लागि समय तय भएको बताए। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया