
काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेतालाई बालुवाटार बोलाएका छन् ।
बिहीबार नेकपाको गतिरोध अन्त्यका लागि अध्यक्षद्वय प्रधानमन्त्रीओली र पुष्पकमल दाहाल प्रचण्डसँगै नेता माधव कुमार नेपालको सहभागिता छलफल भए पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री ओलीले नेताहरुलाई बालुवाटार डाकेका हुन् ।
ओलीले उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नैम्वाङलगायत केही स्थायी समिति सदस्य र सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएका स्रोतले जनाएको छ ।
छलफलमा भोलिको स्थायी कमिटीको बैठकमा कसरी प्रस्तुत हुने विषयमा कुराकानी भइरहेको जनाइएको छ ।
यसअघि अध्यक्ष प्रचण्ड र नेता नेपालसँग प्रधानमन्त्री ओलीको छलफल भएको थियो । त्यहाँ दुवै पक्षले आआफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेन ।
प्रधानमन्त्री ओलीले आफू राजीनामा नदिने स्पष्ट पारेका थिए । प्रचण्ड र नेता नेपालले भने राजीनामा दिनैपर्ने दवाव दिएपछि प्रधानमन्त्री आलीले प्रस्ताव अस्वीकार गरेका थिए ।
पार्टी फुटको संघारमा पुगेपछि असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठक स्थगित गरेर दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।
स्थायी समिति बैठक साउन २ गतेका लागि बोलाइएको छ ।















प्रतिक्रिया