
काठमाडौं, ३१ असार । सप्तरी सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सिद्धिपुर–सखुवनी रोड निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरेको भन्दै कार्यकारी अधिकृत, प्राविधि र ठेकेदार कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरीले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानूनी प्रक्रिया छली भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट १४ लाख ९९ हजार ४५४रुपैंयाको को कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम काम नगरेको अख्तियारको छानबिनले फेला पारेको हो ।
गुणस्तरहीन काम गरेको पाइएकाले नगरपालिकाका सव इन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भैसकेको भनी झुठ्ठा प्रतिवेदन तयार गरी पेश गरेको, निमित्त कार्यकारी अधिकृत दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी भुक्तानीका लागि आदेश दिएको अख्तियार प्रवक्ता प्रदिपराज कोइरालाले जनाएका छन् ।
अख्तियारका अनुसार नगरपालिकाले निर्माण व्यवसायीहरुलाई .१४ लाख ९७ हजार ९७२ रुपैंया भुक्तानी गरी हिनामिना गरेको पाइएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिमको कसुर पुष्टि भएको भन्दै अख्तियारले हानिनोक्सानीको बिगो सहित उक्त रकम असुलको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
यस्तै, सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राज कुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादव र भष्मरवि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीले सप्तकोशी नगरपालिकासँग गरेको सम्झौता एवं मापदण्डअनुसारको कार्य नगरेको पनि अख्तियारको ठहर छ ।
सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राज कुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादवले सप्तकोशी नगरपालिकाको चार लाख ९९ हजार ६४२, भष्मारवी निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीले चार लाख ९८ हजार ६८८ नगरपालिकाको भुक्तानी आदेशानुसार भुक्तानी लिएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुर ठहर गद ४ लाख ९९ हजार ६४२ तथा श्यामकान्त चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो ४ लाख ९८ हजार ६८८ हानि नोक्सानीको रकम असुल उपरको मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।












प्रतिक्रिया