२ कार्तिक २०८३, सोमबार

सरकारहरू असफल भएमा कोरोना खराब र भयावह हुनेछः डब्लुएचओ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० असार । सरकारहरू प्रभावकारी प्रयास गर्न असफल भएमा कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘धेरै देशहरु खराब दिशामा गइरहेका छन् ।’

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनले बताए ।

विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउन थालेका छन् ।

उनले भन्न थालेका छन्, ‘परीक्षण गरेर संक्रमण बढी देखाइएको छ । बढी परीक्षण गरेपछि संक्रमण देखिन्छ नै ।’ तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताएका छन् । ट्रम्प र स्वास्थ्य विज्ञबिचको तनाव उत्कर्षमा पुग्दा समस्या पनि थप बढेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ एक लाख ३५ हजार पाँच सय भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८४ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।