२ कार्तिक २०८३, सोमबार

छटपटीका ३६ घण्टा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी, २८ असार । पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं बिताउनु परेको हो ।

बेनी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत दिउँसै पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइयो । यसैगरी, शनिबार १ बजे हेलिकप्टरबाट बेनी अस्पताल ल्याइएकी ८८ वर्षीया गौमती सुनार पनि पहिरोमा भाग्दाभाग्दै हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी थिइन् । ‘गाउँबाट बाहिर जाने बाटो पहिरोले बगाएकाले स्वास्थ्य चौकीसम्म पनि लैजान सकेनौं’, गौमतीका नाति हरिले भने,

‘हेलिकप्टरको पर्खाइमा छट्पटाउँदै बस्नुभयो ।’ शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने रिखकी हीरा जुग्जालीको योजना पनि उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । ‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र पत्नीलाई बचाउन खोज्दाखोज्दै पहिरोले बगायो ।’ बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुरकी पत्नी, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

जुग्जालीका छोरा अर्जुन र अर्की छोरी रीतु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा खपेर बसेका धनबहादुरले अस्पताल आएपछि दुखाइ कम भएको सुनाए ।

‘अन्नबाली उब्जाउने खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ । न जीवनमा साथ दिने पत्नी र साना छोरी रहे ।’ पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मञ्जितासहित मालिका–७ बिमका ४० वर्षीय पूर्ण परियार, धवलागिरि–६ का बालसिंह रोका, सफल श्रीपाली र ताकमकी ६७ वर्षीया सतदेवी बिटालुलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।

राम्चेकी सुनार, रिखका जुग्जालीसहित २२ वर्षीय दीपक श्रीपाली, ३५ वर्षीय कुशल पुन, १२ वर्षका अंकित पुन, १५ वर्षका बिर्सना जुग्जाली र ताकमका ७३ वर्षीय हरिबहादुर बिटालुको बेनीमै उपचार भइरहेको छ । भौगोलिक रूपमा विकट क्षेत्रमा पर्ने पहिरो प्रभावित ठाउँमा सडक र घोरेटो बाटो बगाएकाले पैदल तथा गाडीमार्फत शुक्रबार सुरक्षाकर्मी पुग्न सकेनन् । दुई पटक गएको हेलिकप्टरसमेत खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्किएको थियो । शनिबार बिहानैदेखि पहिरोमा बेपत्ता भएकाको खोजी र घाइतेको उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन भएको सीडीओ ज्ञाननाथ ढकालले बताए । बेनी र छिमेकी गाउँबाट युवाको स्वयंसेवक टोलीसमेत परिचालन भएका छन् ।

‘भौगोलिक विकटता र प्रतिकूल मौसमले बेपत्ताको खोजी तथा घाइतेको उद्धारमा ढिलाइ भएको हो’, उनले भने, ‘पालिका, युवा क्लब र आमा समूहसँग समन्वय गरेर जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सारेका छौं ।’ पहिरोपीडितलाई ५० बोरा चामल, ८४ कार्टुन चाउचाउ, ८० कार्टुन तेल, दुई बोरा दालसहित तेल, मसलासहितको खाद्यान्न राहत हेलिकप्टरमार्फत लगिएको छ । राहत र व्यवस्थापनलाई सहज बनाउन सडक र घोरेटोबाट मर्मत गरिने धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । अन्नपूर्ण पाेस्ट दैनिकमा सन्ताेष गाैतमले समाचार लेखेका छन् ।