– पहिलाद राना
महेन्द्रनगर, ३० फागुन । राना-थारुको साँस्कृति संरक्षण गर्न कञ्चनपुरमा होली मिलन महोत्सव आयोजना गरिएको छ ।
सुदूरको तराईका जिल्ला कैलाली-कञ्चनपुरमा बसोबास गर्ने आदिवासी राना-थारु समुदायले आफ्नो लोक संस्कृति संरक्षणका लागि दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ७ भकुण्डामा होली मिलन महोत्सव २०७१ आयोजना गरेका हुन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका ७ भकुण्डामा राना-थारु संघर्ष समिति बेलौरीको आयोजनामा शनिबार होली मिलन महोत्सव मनाएका हुन् ।
‘गुलामी छोडौँ समाज जोडौँ मजदुर होईन मजबुद बनौँ’ भन्ने मुल नाराका साथ विभिन्न स्थानमा छरिएर रहेका राना-थारु समुदायहरले संयुक्त रुपमा होली मनाएको राना-थारु संघर्ष समितिका अध्यक्ष भोजराज रानाले जानकारी दिनुभयो ।
अध्यक्ष रानाका अनुसार कैलाली-कञ्चनपुर कैलालीमा बसोबास गर्ने राना समुदायहरुको लोक संस्कृति संरक्षण र नयाँ पिँढीलाई आफ्नो संस्कृति बारे बोध गराउने उद्देश्यले होली महोत्सव कार्यक्रम संचालन गरिएको हो ।
होली मिलनमा कञ्चनपुरका विभिन्न १४ ओटा गाँउका स्थानियहरुले आ-आफ्नो होली टोली ल्याएर आफ्नै पहिरनमा होली प्रस्तुत गरेका थिए ।
कञ्चनपुरुका राना समुदायका अगुवा प्रकाश रानाले राना समुदायको होली संरक्षणका लागि राज्यका तर्फबाट केही पहल नभएको गुनासो गर्दै आफ्नै पहलमा विगत दुई वर्ष देखि भकुण्डामा सामुहिक रुपमा होलि महोत्सव मनाउदै आएको बताउनुभयो ।
उहाँका अनुसार फागुन ३० गते होली महोत्सव मनाउने गरिएको छ । थारु समुदायको अवस्था हेरेर सोही ठाँउमा होली मिलन महोत्सव मनाउन लागेको र जसका कारणबाट लोक संस्कृति संरक्षणमा टेवा पुग्ने बताए ।
महोत्सवमा राना समुदायका सभाषद कृपाराम राना, नेता राम अवतार राना, सुकराम राना लगायत राना अगुवा लगायतको सहभागि थिए ।
















प्रतिक्रिया