
काठमाडौँ, २४ असार । देशका ४ वटा प्रदेशमा मनसुन सक्रिय भएपछि अब ४ दिनसम्म अहिलेसम्मकै धेरै पानी पर्ने पूर्वअनुमान गरिएको छ ।
असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिएका छन् ।
मनसुन सुरु भएदेखि नै पानी परिरहेको भए पनि अबका ४ दिन बढी पानी पर्ने विभागले जनाएको छ ।
विभागले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
वैशाखदेखि नै प्रिमनसुनको समयमा धेरै पानी परिसकेकोले जमिन गलेको र विभिन्न स्थानमा पहिरोको जोखिम हुन सक्ने विभागले सतर्क गराएको छ ।
वैशाखदेखि अहिलेसम्ममा ११४ जनाको विपदका कारण ज्यान गएको तथ्यांक छ ।
मौसम विभागले यस वर्षको मनसुनमा औसत पानी पर्ने जनाएको छ । यद्यपि कहिले निकै बढी र कहिले कम पानी पर्ने हुन सक्ने भन्दै अबका ४ दिन खतरा हुने गरी पानी पर्न सक्ने बताइएको छ ।
यी नदीमा बहाव बढ्नसक्ने
शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।
खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताए ।
उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।
प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ। प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।
नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।
यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।















प्रतिक्रिया