५ कार्तिक २०८३, बिहिबार

समुदायमा कोरोना फैलिने जोखिम उच्च

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अशोक घिमिरे

काठमाडौँ, २३ असार । सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिइनसकेको जनाएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले भने– ‘यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिङ्क’ भएको पाइएको छ ।’

उनले भने– ‘कोरोना भाइरस समुदायमा आउन सक्छ, योसँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायसम्म कोरोना भाइरस पुगिसकेको होइन ।’

समुदायस्तरमा कोरोना फैलिएको छरछैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले अधिकांश सङ्क्रमित विदेशबाट आएको व्यक्ति भएको बताए ।

‘अहिलेसम्म ८७ प्रतिशत सङ्क्रमित पुरुष छन् । उहाँहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुनुहुन्छ । उहाँहरु श्रम गर्न अन्य देश जानुभएको थियो । विदेशमा श्रम गर्न जाँदा उहाँहरुमा कोरोना सङ्क्रमण भएको हो’ निर्देशक पाण्डेले भने ।

काठमाडौं उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उनले सङ्क्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताए ।

‘सङ्क्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका हुनुहुन्छ, यीमध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएको हुनुहुन्छ’ उनले भने ।

कसरी बढे काठमाडौँमा सङ्क्रमित ?

विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको उहाँले बताउनुभयो ।

विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही सङ्क्रमण बढ्न गएको महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सम्बन्धित मुलुकले पिसिआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा सङ्क्रमण देखिएको उनको भनाइ छ ।

विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उनले जानकारी दिए । कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उनको भनाइ छ ।

केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको निर्देशक पाण्डेले बताए । खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्सलगायत मुलुकबाट सङ्क्रमित आएको अवस्था छ ।

आयातीत सङ्क्रमितबाट उपत्यकामा जोखिम बढेको छरछैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उनले बताए । तीमध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उनले जानकारी दिए ।

‘अन्य नौ ठाउँको पनि नमूना सङ्कलन भइरहेको, एक/दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ’ उनले भने । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्र्याइँ नगर्न अपिल गरे ।

‘लक्षणविहीन कोरोना सङ्क्रमित’

नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । महाशाखाका निर्देशक पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए ।

‘अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन’, उनले भने– ‘उहाँहरु सङ्क्रमित हुनुहुन्छ, तर उहाँको लक्षण केही छैन ।’

नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । तीमध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ ।

‘अहिलेसम्म हाम्रो स्थिति हेर्दाखेरि वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ’ उनले भने– ‘अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।’ –रासस