काठमाडौँ, ३० फागुन । काठमाडौँको ऐतिहासिक वसन्तपुरको डबलीमा स–साना नानीहरु समूहमा सजिएर आज बेहुली बनेका थिए । त्यस आसपास क्षेत्र आवतजावत गर्ने बटुवा तथा विभिन्न मुलुकबाट आएका पर्यटकलाई उनीहरुले आकर्षित गरेका थिए । विवाहको प्रक्रिया बढिरहेको थियो तर त्यहाँ बेहुलाको भने उपस्थिति थिएन् ।
सधैँजसो विभिन्न राजनीतिक सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भइरहने उक्त स्थानमा स्थानीय महादेव पार्वती पूजा व्यवस्थापन समितिले २७ कन्याको सामूहिक बेलविवाहको कार्यक्रम आयोजना गरी सोहीअनुसारका धार्मिक विधि गराएको हो ।
नेवारी समुदायमा विभिन्न कर्ममध्ये बेल विवाह पनि एक महत्वपूर्ण कर्म मानिन्छ । विशेष गरी रजस्वला हुनु अगाडि कन्याको बेलविवाह गर्ने चलन छ । सो विवाहमा सहभागी कन्याले पवित्र भई विशेष गरी नारायणलाई पूजा गर्ने तथा बेललाई कन्याको प्रतीकका रुपमा मानेर नारायणसँग कन्यादान गरिएको थियो ।
सो समारोहमा ती नानीले विधिपूर्वक पीठ, कुमारी, नारायणको पूजा गरी चामल, कपडा, पैसा सुवर्ण नारायणलाई चढाएका थिए । उक्त कार्यक्रममा विभिन्न तन्त्र विधि तथा वैदिक मन्त्रोच्चारण गरी कन्याको पुण्य तथा समृद्धिको कामना गरिएको थियो ।
विवाह भएपछि कन्या तथा अभिभावकले खानपिनलगायत कार्यमा चोखो नीति गर्नुपर्ने हुन्छ । कार्यक्रममा सहभागी कन्याका आफन्त तथा शुभेच्छुकले कन्यालाई विभिन्न फलफूल, मिठाइ तथा खानेकुरा चढाएका थिए ।















प्रतिक्रिया