२ कार्तिक २०८३, सोमबार

नेकपामा कडा शक्ति–संघर्ष

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत ओलीलाई जसरी पनि राजीनामा गराउने गृहकार्यमा उसरी जुटे।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बाक्लो भेटघाट गरिरहँदा दाहाल–नेपाल पक्ष ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा जुटेको थियो। त्यहाँ उनीहरूले बहुमत स्थायी समिति सदस्यहरू बोलाएर ओलीलाई सकभर सहमतिका आधारमा दुवै पदबाट राजीनामा गराउने तय गरे। ओली सहमतिमा आउन नचाहे बहुमत, अल्पमतकै निर्णयका आधारमा भए पनि हटाउने निर्णय लिने निष्कर्ष निकालेका थिए।

दाहाल–नेपाल पक्षले दबाब बढाएर पद छाड्न लगाउन खोजे पनि प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने रणनीति बनाएका छन्। ओलीले बिहान बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्यसहित दाहाल र नेपाल पक्षका केही नेतालाई बोलाएर छलफल गरेका थिए। साँझ दाहाल–नेपाल पक्ष झम्सिखेलमा जुटेको खबर पाएपछि बालुवाटारमा पनि ओली पक्षका नेताले गहन छलफल चलाए।

ओली पक्षले पार्टी नेताहरूले भन्दैमा प्रधानमन्त्री र अध्यक्ष दुवै पद दबाबकै भरमा नछोड्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री संसदीय दलले चयन गरेको र दुई पार्टी एकताका क्रममा दुई अध्यक्ष विधानमा व्यवस्था गरेर जाने गरी भएको भन्दै दबाब दिँदैमा अहिले दुवै पद छोड्न नसकिने निष्कर्षमा ओली पक्ष देखिएको हो। यसका लागि दाहाल–नेपाल पक्षमा रहेका मध्यमार्गी धारका स्थायी समिति सदस्यहरूसँग पनि ओली पक्षले बाक्लो छलफल गरेको छ।

ओलीले बुधबार दाहाल र नेपालनिकट नेताहरूलाई पनि आफूनिकट नैताहरूसँगै राखेर छलफल गरेका थिए। ओलीसँगको छलफलका लागि नेपालनिकट मानिएका मन्त्रीहरू योगेश भट्टराई, घनश्याम भुसाल, दाहालनिकट मानिएका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा पुगेका थिए। पूर्वमाओवादी धारकै नेताहरू गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट पनि बालुवाटार गएका थिए।

छलफलमा नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवाद तन्काउनेभन्दा पनि समाधानका लागि उपयुक्त विकल्प पहिचान गरेर अगाडि बढ्न सुझाव दिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

‘प्रधानमन्त्रीले फरक–फरक समूह बनाएर सबै स्थायी समितिका सदस्यलाई पार्टीभित्र देखापरेको विवाद समाधान कसरी गर्न सकिएला भन्ने हिसाबले छलफलका लागि बोलाउनुभएको हो। त्यही क्रममा हामी १९–२० जना बिहान थियौं। उहाँले खेप–खेप गरेर भेटिरहनुभएको छ’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले पार्टी बैठक चलिरहेको छ, तपाईंहरूले सबै कुरा हेर्नुहोस्, बुझ्नुहोस् र पार्टीलाई एउटा राम्रो ढंगले निकास निकाल्ने विषयमा भूमिका खेल्नुहोस् भन्नुभएको थियो। हामीले पनि सबैसँग छलफल गर्नुहोस्, पार्टीलाई एक बनाएर लैजानुहोस्। यताउता गर्न नदिऔं भन्ने सुझाव दिएका थियौं।’ नेताहरूले दुई अध्यक्षलाई निरन्तर छलफल गरेर विवाद नटुगिंदासम्म लागिरहन सुझाव दिएको पनि नेम्बाङले बताए।

उता दाहाल–नेपाल पक्ष कुनै पनि प्रलोभनमा नफर्किने मनस्थितिमा देखिन्छ। निर्णयमा पुग्नुअघि प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने र त्यसको जिम्मा अध्यक्ष दाहाललाई दिने समझदारी झम्सिखेल भेलाले बनाएको एक स्थायी समिति सदस्यले बताए। बुधबार स्थायी समितिको छोटो बैठकपछि दाहाल र नेपालबीच नेपाल निवासमा छलफल भयो। त्यसले झम्सिखेल भेला तय गरेको थियो।‘उहाँबाट पार्टी र सरकार दुवै चल्दैन भन्ने हाम्रो सामूहिक निष्कर्ष छ। अब उहाँले पार्टी नेताहरूले भनेजस्तै सहमतिका आधारमा पद त्याग गर्नुभए सबैभन्दा राम्रो हुन्छ। भएन भने पार्टीले बहुमत अल्पमतकै आधारमा भए पनि उहाँलाई हटाउने निर्णय लिने विषयमा भेलामा समझदारी जुटेको छ’, ती स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने।

भेलामा गत वैशाख १० गते लिखित रूपमा पार्टी स्थायी समिति बैठक माग गर्ने २० नेता, ओली नेतृत्वकै सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल पनि सहभागी थिए। सचिवालयका ९ मध्ये ६ नेता भेलामा सहभागी थिए। स्थायी समितिका ४४ मध्ये ३० जना थिए। बिहान प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा सहभागी नेता गृहमन्त्री थापा, कृषिमन्त्री भुसाल, स्थायी समिति सदस्य मणि थापा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल पनि भेलामा सहभागी थिए। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।