प्यूठान, ३० फागुन । जिल्लामा बालविवाह रोक्ने अभियान सञ्चालन भइरहेको समयमा बालविवाह गर्ने दुई पुरुषलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
गोठिवाङ–३ मा बालविवाह गर्ने दुई जनामाथि इलाका प्रहरी कार्यालयमा भिगृमा उजुरी दर्ता भएको र अभियुक्तलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।
“स्थानीय १५ र १६ वर्षीया बालिकालाई विवाह गर्ने २१ वर्षीय दोणबहादुर नेपाली र १८ वर्षीय राजु नेपालीलाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।”
प्रनाउ कार्कीले भन्नुभयो– “बालविवाह रोक्ने गरी जिल्लामा सञ्चालन भएको अभियानले यस्ता घटना बाहिर आउने दर बढेको छ ।” बालविवाहको उजुरी प्रमाणित भएमा बालविवाह कसुर ऐनअनुसार कानुनी कारबाही हुने बालअधिकार अधिकृत सुशीला सिंखडाले जानकारी दिनुभयो ।
जिल्लामा बालविवाह घटना न्यूनीकरण गर्नका लागि जिल्ला बालकल्याण समितिले एक नगरपालिका र ४२ वटा गाविसमा बालविवाह न्यूनीकरण अभियान सुरु गरेको बालकल्याण समितिका अध्यक्ष मेघराज भट्टले बताउनुभयो ।
अभियान सञ्चालन भएपछि बालविवाह विरुद्ध प्रहरीमा झन्डै एक दर्जन उजुरी आएका छन् ।















प्रतिक्रिया