३ कार्तिक २०८३, मंगलबार

१३ घर आगलागी पीडितलाई कहिले दिने हो खाना र बासको व्यवस्था ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३० फागुन । रौतहटको दुई गाविसमा हालै भएको आगलागीबाट पीडित बनेका १३ घर परिवारको अवस्था कष्टकर बन्दै गएको छ ।

स्थानीय गङ्गापिपरा तथा फतुहा महेशपुर गाविसका १३ घरधुरी परिवारको घर आगलागी हुँदा पीडित परिवारको ४० जनाको अवस्था दयनीय बन्दै गएको छ ।

खाद्यान्न, कपडा, बास बस्ने घर आगोले खरानी भएपछि अग्निपीडित परिवारका सदस्यले दैनिक छाँक टार्नसमेत समस्या भएको गुनासो गरेका छन् ।

घर आफ्नै आँखा अगाडि आगोले खरानी भएपछि खुल्ला अकासमुनि बस्नुबाहेक अन्य कुनै विकल्प नरहेको पीडित महेन्द्र पासवानले बताउनुभयो ।

गङ्गापिपरा गाविसको दलित बस्तीका उनको सहित आठ घर जलेर खरानी भएपछि पीडितका करिब ४० जनाको परिवार विचल्लीमा परेका छन् ।

आगोले घर जलेपछि केही सङ्घसंस्थाले थोरै राहत सामग्री उपलब्ध गराए पनि अग्निपीडितलाई राति सुत्ने बास, ओड्ने ओछ्याउने कपडा र खाना पकाउने दाउरालगायतका समस्या रहेको गङ्गापिप्रा गाविसका पूर्व गाविस उपाध्यक्ष राजदेव गुप्ताले बताउनुभयो ।

यसैगरीे फतुवा महेशपुर गाविसका नागरिक पनि आगलागीबाट पीडित बन्न पुगेका छन् । दुवै गाविसका झन्डै एक दर्जन परिवारका बालबालिका, महिला, सुत्केरी र वृद्धवृद्धा सडकमा बस्दै आएका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अग्निपीडितका लागि राहतस्वरुप खाना पकाउन भाडावर्तन, बस्नलाई त्रिपाल, सुत्नलाई दरी र केही खाद्यान्न सामग्री उपलब्ध गराएको बताउनुभयो ।